अन्तर्राष्ट्रिय |

‘कोही विदेशीलाई अपहरण गरेको छैन’

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ५ गते । तालिबानले कोही विदेशी नागरिकलाई अपहरण नगरेको दाबी गरेको छ । रोयटर्ससँगको कुराकानीमा तालिबानका एक जना अधिकारीले यस्तो दाबी गर्नुभएको छ ।
विदेशीको अपहरण सम्बन्धमा राखिएको जिज्ञासामा तालिबानका एक जना अधिकारीले नाम गोप्य राख्ने शर्तमा भन्नुभयो, “हामीले अफगानिस्तान छोड्नु अघि केहीसँग प्रश्न गरेका छौं ।” तालिबानले राजधानी शहर काबुल नियन्त्रणमा लिएको छ दिन बितेको छ । यसैबीचमा अमेरिकाले अफगानिस्तानबाट आफ्ना कूटनीतिज्ञ तथा अफगानिस्तानमा रहेको आफ्ना नागरिकसहित दोभाषेका रुपमा कार्यरत अफगानलाई उद्धार गर्ने कार्य जारी राखेको छ । तालिबानले प्रतिशोध लिने आशङ्कामा देश छोडन हजारौं अफगान अमेरिकी सेनाको नियन्त्रणमा रहेको कारजाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने क्रम जारी रहेको छ ।
अब्यवस्थित बहिर्गमनबारे टिप्पणी गर्दै उक्त अधिकारीले विमानस्थलबाहिरको स्थिति नियन्त्रणमा लिन लडाकू परिचालन गरिएको बताउनुभएको छ । तालिबानले नियन्त्रणमा लिएको क्षेत्रमा प्रतिशोध साँध्नलाई नै हत्याका घटनाहरु बाहिर आएको छ । जसले तालिबानले दुई दशक अघि चलाएको शासनको क्रममा गरेको दमनलाई दोहोर्याउने त हैन भन्ने आशङ्का उब्जिएको छ ।