अन्तर्राष्ट्रिय |

ग्रीसले टर्कीसँगको सीमामा निगरानी बढायो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ५ गते । ग्रीसले टर्कीसँगको सीमामा निगरानी बढाएको छ । उसले टर्कीसँग जोडिएको ४० किलोमिटर सीमाक्षेत्रमा बार लगाउँदै निगरानी पद्धति जडान गरेको छ ।
टर्कीसँग जोडिएको सीमाक्षेत्र भएर उल्लेख्य संख्यामा अफगान नागरिक आउन सक्ने भएपछि ग्रीसले यस्तो कदम चालेको हो । ग्रीसको नागरिक संरक्षण मन्त्री मिकालिस क्रिसकोइडिसले सीमा जोडिएको एभ्रसको भ्रमणको क्रममा सम्भाबित असरका लागि कुर्न नसक्ने भन्नुहुँदै यस्तो कदम चालेको बताउनुभयो । टर्कीले अफगानबाट बसाई सर्नेको दायित्व लिन यूरोपेली राष्ट्रलाई भनिरहँदा ग्रीसले सीमा निगरानी बढाउन थालेको हो ।
टर्कीका राष्ट्रपति रेकेप तैयप एड्रोगनले ग्रीक प्रधानमन्त्री कायरियाकोस मित्सोकिससँगको टेलिफोन कुराकानीमा अफगान छोड्नेको संख्यामा तीब्र बृद्धि हुनु सबैका लागि नयाँ चुनौती थपिने बताउनुभएको थियो । उहाँले अफगानिस्तान र इरानमा आवश्यक उपाय नअपनाए बसाइसराइको ठूलो तरङ्ग आउने बताउनुभएको थियो ।
सन् २०१५ मा मध्य पूर्बमा अस्थिरता हुँदा गरिबी र भोकमरीको चपेटामा परेका दश लाख ब्यक्ति टर्की भएर यूरोप प्रवेश गर्दा ग्रीसले सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो ।