अन्तर्राष्ट्रिय |

तालिबान लडाकू पञ्चशीर कब्जा गर्न प्रस्थान गरे

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । तालिबानले अफगानिस्तानको पञ्चशीर उपत्यका कब्जा गर्न सयौं लडाकू प्रस्थान गरेको जनाएको छ । तालिबानले अफगानिस्तानमा हिंसात्मक गतिबिधि तीब्र बनाएपछि पूर्ब सरकारी सुरक्षाकर्मी काबुलबाट तीन सय किलोमिटर उत्तरतर्फ रहेको पञ्चशीर उपत्यका पुगेका छन् ।
तालिबानले आइतबार आफ्नो ट्वीटर खातामा लेखेको छ,“स्थानीय अधिकारीले शान्तीपूर्ण तरिकाबाट पञ्चशीर हस्तान्तरण गर्न अस्वीकार गरेको अवस्थामा सयौं मुजाहिद्दीन नियन्त्रणका लागि प्रस्थान गरेको छ ।” पञ्चशीर अफगानिस्तानको बिद्रोही संगठन तालिबान बिरुद्धको अभियान चलाउने र कडा प्रतिकार गर्ने उपत्यकाको रुपमा चिनिन्छ । पञ्चशीरलाई अहमद मसूदले नेतृत्व गर्नुभएको सुरक्षा दस्ताले सुरक्षा दिदै आएका छन् । मसूदले तालिबानलाई वार्ताका लागि समेत आग्रह गर्नुभएको छ ।
अहमद मसूद, सन् १९८० को दशकमा अफगानिस्तानमा रुसी प्रबेशको कडा प्रतिरोध गर्नुभएका अहमद शाह मसूदका छोरा हुनुहुन्छ । तालिबानले पञ्चशीर उपत्यका कब्जा गर्ने प्रयास गरे आफ्ना लडाकू बिद्रोह गर्न र युद्ध गर्न तयार रहेको मसूदले बताउनुभएको छ ।
तालिबानले गत् अगष्ट १५ मा काबुल नियन्त्रणमा लिए यता तालिबान बिरोधी समूहले बघलान प्रान्तको उत्तरी जिल्ला, पञ्चशीर जोड्ने जिल्ला फिर्ता ल्याएको छ ।