अन्तर्राष्ट्रिय |

सुरक्षित उद्धारको अनुमति दिन ५७ इस्लामिक राष्ट्रको आग्रह

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । ५७ राष्ट्र आबद्ध ‘इस्लामिक समन्वय सङ्गठन’(ओआईसी)ले अफगानिस्तानको परिस्थितिबारे ध्यानाकर्षण भएको जनाएको छ । अफगानिस्तानबाट बारिरिन इच्छुकहरुको सुरक्षित उद्धारका लागि उसले आग्रह गरेको छ ।
ओआईसीले अफगानिस्तानको वर्तमान अवस्थाबारे छलफल गर्न आइतबार बैठक राखेको थियो । बैठकमा महासचिव डा. युसूफ अल ओथाईमीनले तालिबानलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र बाँच्न पाउने एवम् सुरक्षाको अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको छ । बैठकले अफगान नागरिकको चाहना प्रतिविम्बित हुनेगरी सहमति गर्न जोड दिएको छ ।
सउदी अरबमा रहेको ओआईसीको बैठकले सुरक्षित उद्धारका लागि सहुलियत प्रदान गर्न र अफगान छोडन इच्छुकलाइ अनुमति दिन आग्रह गरेको हो । अफगानिस्तानको भविष्य तथा दीर्घकालीन स्थायित्वका लागि अफगान नागरिकको चाहना प्रतिविम्बित हुने गरी दलहरुलाई समावेशी रुपमा सहमतिमा आउन उसले आग्रह गरेको छ ।