जापानमा १६ लाख मोडर्नाको खोप दूषित
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १० गते । जापानमा १६ लाख ३० हजार डोज मोडर्नाको खोप खेर गएको छ । मोडर्नाको खोपको भाइल दूषित भएको पाइएपछि करिब १६ लाख ३० हजार खोप उपयोगमा नल्याइने भएको जनाइएको छ ।
औषधि निर्माता टाकेडा र स्वास्थ्य मन्त्रालयले मोडर्नाको प्रयोगमा नल्याइएको भाइलमा दूषित पदार्थ पाइएको जनाएको छ । मोडर्नाको खोपको बजारको जिम्मेवारी पाएको टाकेडाले एक वक्तब्य जारी गरी लेखेको छ, “नखुलेको खोपको भाइलमा दूषित पदार्थ पाइएको खोप केन्द्रबाट जानकारी आएको छ र स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा उक्त खोप नलगाउने निर्णयमा पुगेका छौं ।”
टाकेडाले उक्त विषयमा खोप उत्पादक मोडर्नालाई जानकारी गराएको र अविलम्ब छानबीनको माग गरेको जनाएको छ । मोडर्नाले भने तात्कालै कुनै प्रतिक्रिया जनाएको छैन । टाकेडा आफैंले पनि दूषित पदार्थबारे थप खुलाएको छैन । तर दूषित खोप लगाएकामा समेत कुनै प्रकारको असर अवलोकन नगरिएको प्रष्ट्याएको छ ।
जापान पुर्याइएको मोडर्नाको उक्त खेपको खोप स्पेनमा उत्पादन भएको छ । मध्य जापानको टोकियोसहित आठ वटा खोप केन्द्रको ३९ वटा भाइलमा दूषित पदार्थ पाइएको अलजजिराले उल्लेख गरेको छ । अगष्ट ६ देखि २० सम्म ओसाका लगायतका स्थानमा उक्त खोप लगाइएको थियो ।