अन्तर्राष्ट्रिय |

सिंगापुरले योग्य सबैलाई कोभिड १९ बिरुद्धको खोप लगायो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १३ गते । सिंगापुरले आफ्नो जनसंख्याको ८० प्रतिशतलाई पूर्ण खोप लगाएको छ । सिंगापुरले आफ्नो कुल जनसंख्या ५७ लाखको ८० प्रतिशतलाई पूर्ण खोप लगाएको जनाएको छ । सक्षम सबैले खोप लगाएपछि सिंगापुरले अब कोभिड १९ बिरुद्ध लगाइएको मापदण्ड खुकुलो बनाउने दिशातिर उन्मुख भएको छ ।
सिंगापुरको स्वास्थ्य मन्त्री ओङ ए कुङ्गले आइतबार सामाजिक सञ्जालमा जानकारी साझा गर्नुहुँदै सक्षम सबैले खोप लगाइसकेकोले अब कोभिड बिरुद्धको सतर्कताका उपाय बिस्तारै खुकुलो गरिने उल्लेख गर्नुभएको छ । सिंगापुर बाहेक यूनाइटेड अरब एमिरेटस(यूएई), चिली, ऊरुग्वेले समेत आफ्नो कुल जनसंख्याको ७० प्रतिशतलाई खोप लगाइसकेको छ ।
सिंगापुरले जनवरी सातमा खोप अभियान सुरु गरेको थियो । उसले बायोएनटेक र मोर्डनाको खोपमा आश्रित रहेको थियो । मन्त्री कुङ्गले सिंगापुर अब अझै सामान्य हुने र जिविकोपार्जन अझै सुरक्षित हुने प्रतिक्रिया दिनुभएको छ ।
सिंगापुरले ठूलो भीड जमा भएर मनाइने नयाँ वर्षको उत्सव, ब्यापार ब्यवसाय अबरुद्ध नहुने जनाएको छ । सिंगापुरमा शनिबार ११३ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । च्यानल न्यूज एशियालाई उद्धृत गर्दै अलजजिराले सिंगापुरमा हालसम्म ६७ हजार १७१ जना सङ्क्रमित भएकोमा ५५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।