अन्तर्राष्ट्रिय |

अफगान सीमा नजिक आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । अफगानिस्तान भूभागबाट गरिएको गोली प्रहारको घटनामा दुई जना पाकिस्तानी सेनाको मृत्यु भएको छ । तालिबानले १५ दिन अघि काबुल नियन्त्रणमा लिएपछि अफगान भूमिबाट गोलि फायरिङमा पाकिस्तानी सेनाको मृत्यु भएको यो पहिलो घटना हो ।
पाकिस्तान सेनाले आक्रमणको जवाबमा चलाइएको कारबाहीमा दुई वा तीन आक्रमणकारीको मृत्यु भएको जनाएको छ । घटना भएको क्षेत्रमा सञ्चारकर्मी वा मानव अधिकारकर्मीको पहुँचमा रोक लगाइएको छ । आक्रमणको घटना आइतबार पाकिस्तानको बजौर जिल्लामा भएको बताइएको छ ।
बजौर जिल्ला ऐन कानुन कार्यान्वयन नहुने जिल्लाको रुपमा चिनिन्छ । समाचार संस्था अलजजिराले उक्त जिल्ला पाकिस्तान तालिबानको गढको रुपमा गनिदै आएको उल्लेख गरेको छ । सेनाले कारबाही चलाउँदा तालिबान अफगान भूभागतर्फ गएको बताइएको छ । काबुलमा सत्ता ढलेपछि पाकिस्तान तालिबानले पाकिस्तान सेना बिरुद्ध आक्रमणको घटना रोकेको थियो । सेनाले आक्रमणमा संलग्नतालाई लिएर कुनै खुलासा गरेको छैन् ।
सेनाले जारी गरेको वक्तब्यमा दुई देखि तीन जना आतङ्ककारीको मृत्यु भएको र तीन जना घाइते भएको उल्लेख गरिएको छ ।