अन्तर्राष्ट्रिय |

रुसमा १७ हजार सङ्क्रमित थपिए

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १५ गते । रुसमा गएको चौबीस घण्टामा १७ हजारभन्दा बढी नयाँ सङ्क्रतिको पुष्टि भएको छ । रुसको सङ्घीय प्रतिकार्य केन्द्रका अनुसार अघिल्लो दिन १८ हजार २३५ जना सङ्क्रमित पुष्टि भएकोमा मङ्गलबार चौबीस घण्टामा १७ हजार ८१३ सङ्क्रमितको पहिचान गरिएको छ ।
थपिएका सङ्क्रमितसँगै रुसमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख १८ हजार ९६५ पुगेको छ । थपिएकामध्ये एक हजार ३६६ जनामा लक्षण देखिएको छैन । गएको चौबीस घण्टामा मस्कोमा एक हजार १६२ जना थपिएका छन् । सोही अवधिमा १८ हजार ६२४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ६१ लाख ८१ हजार ५४ जना कोरोनामुक्त भएका छन् ।