अन्तर्राष्ट्रिय |

पञ्जशीर उपत्यकाको चौकीमाथि तालिबानको आक्रमण

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १५ गते । तालिबानले सोमबार अबेर पञ्जशीर प्रान्तको एक चौकीमाथि आक्रमण गरेको छ । अफगानिस्तानको पञ्जशीर प्रान्त आतङ्कवादी संगठन तालिबानको नियन्त्रणमा आउन नसकेको एक मात्र प्रान्त हो । सोमबार साँझ गरिएको आक्रमणबाट कुनै मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुले स्रोतलाई उद्धृत गर्दै तालिबानले चौकीमाथि आक्रमण गरेको उल्लेख गरेका छन् । अहमद मस्सौदको नजिकका एक जनाले तालिबानले चौकीमाथि आक्रमण गरेपनि प्रतिरोधपछि भागेको बताएका छन् । टोलो न्यूजले भने उक्त आक्रमणको विषयमा तालिबानले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन् ।
यसैबीच, पञ्जशीरका स्थानीयले तालिबानले टेलिफोन सञ्जाल अबरुद्ध गरेको गुनासो गरेका छन् । पञ्जशीरका एक जना स्थानीय गुल हैदरलाई उद्धृत गर्दै टोलो समाचारले गएको दुई दिनदेखि पञ्जशीरमा टेलिफोन लाइन अबरुद्ध रहेको उल्लेख गरेको छ ।
पञ्जशीर उपत्यका काबुलबाट करिब ९० माइल उत्तरमा हिन्दु कुश पवर्तमालामा पर्छ ।