अन्तर्राष्ट्रिय |

काबुल विमानस्थल पुनः सञ्चालनमा आयो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १९ गते । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । अफगानिस्तानका लागि कतारका राजदूतावासले मानवीय सहयोग सङ्कलनका लागि काबुल विमानस्थल सञ्चालनमा आएको जनाएको छ ।
समाचार संस्था अलजजिराका अनुसार एक प्राबिधिक समूहले तत्कालका लागि सहयोग सङ्कलन गर्न विमानस्थल सञ्चालनमा ल्याएको छ । छिट्टै आम सर्वसाधारणले उपयोग गर्न पाउने गरी विमानसेवा सञ्चालनमा आउने बताइएको छ । काबुल विमानस्थलको रन वे अफगानिस्तानमा रहेका अधिकारीहरुसँगको समन्वयमा मरम्मत गरिएको छ ।
अमेरिकी सेनाले गत् अगष्ट ३१ को बिहान काबुल विमानस्थल छोडे यता विमान सेवा अवरुद्ध बन्न पुगेको थियो ।
संयुक्त राष्ट्रसंघले खाद्य संकटले कम्तिमा दश लाख बालबालिका प्रभाबित भएको गत् साता बताएको थियो । तात्कालै मानवीय सहयोगको आवश्यकता रहेको जनाउँदै राष्ट्रसंघले सहयोगका लागि अपील समेत गरेको थियो । तर मानवीय सहायता पुग्न कठीनाइ भएपछि तात्कालका लागि विमानस्थल मरम्मत गरी सञ्चालनमा ल्याइएको हो ।