भारतमा एकैदिन एक करोड १३ लाख डोज कोरोना विरुद्धको खोप लगाइयो
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । भारतमा कोरोनाभाइरसका ३१ ह्जार २२२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितमध्ये करिब ६५ प्रतिशत सङ्क्रमित केरला राज्यमा पुष्टि भएको छ । केरलामा १९ हजार ६८८ नयाँ सङ्क्रमित पहिचान गरिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ३० लाख ५८ हजार ८४३ पुगेको छ । भारतमा हाल तीन लाख ९२ हजार ८६४ जना सक्रिय सङ्क्रमित छन् । गएको चौबीस घण्टामा १५ लाख २६ हजार ५६ नमुना परीक्षण गरिएको छ ।
गएको चौबीस घण्टामा ४२ हजार ९४२ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन करोड २२ लाख २४ हजार ९३७ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । सोमबार चौबीस घण्टामा २९० जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म चार लाख ४१ ह्जार ४२ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, सोमबार चौबीस घण्टामा एक करोड १३ लाख डोज कोभिड १९ विरुद्धको खोप लगाइएको छ । हालसम्म ६९ करोड ९० लाख ६२ हजार ७७६ डोज कोभिडविरुद्धको खोप लगाइएको छ ।