अन्तर्राष्ट्रिय |

पूर्व सरकारी अधिकारीलाई फिर्ता आउन तालिबान सरकारको आग्रह

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । अफगानिस्तानको नवनियुक्त प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले पूर्व सरकारी अधिकारीलाई फिर्ता आउन आग्रह गर्नुभएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि सरकारी अधिकारी देश छोडेर पलायन भएका थिए ।
अलजजिरासँगको अन्तर्वार्तामा प्रधानमन्त्री अखुन्दले तालिबानले सरकारी अधिकारीको सुरक्षाको जिम्मेवारी लिने दाबी गर्नुभएको छ । उहाँले कामचलाउ सरकारले कूटनीतिज्ञ, दूतावास, मानवीय सहायताकर्ताको सुरक्षाको पूर्ण सुनिश्चितता गर्ने बताउनुभएको छ । उहाँले कामचलाउ सरकारले छिमेक र अन्य राष्ट्रसँग सशक्त र सकारात्मक सम्बन्ध बनाउन चाहेको प्रष्ट्याउनुभयो ।
“हामीले ऐतिहासिक उपलब्धिसम्म आइपुग्न थुप्रै मानवीय र आर्थिक क्षति भोग्नुपरेको छ र अब अफगान नागरिकसमक्ष ठूलो जाँच र दायित्व बहन गर्ने समय आइपुगको छ ।”–उहाँले बताउनुभयो ।