चार जनामा दादुरा देखिएपछि अमेरिकाले अफगान उडान रोक्यो
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानबाट उद्धार गरिएका चार जनामा दादुरा फेला परेपछि उडान स्थगित गरेको छ । व्हाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले तात्कालका लागि उद्धार उडान स्थगित गरिएको बताउनुभएको छ ।
प्रेस सेक्रेटरी जेन साकीले रोग नियन्त्रण तथा उन्मूलन केन्द्र(सीडीसी)को सिफारिशमा उक्त कदम चालिएको बताउनुभएको छ । सार्वजनिक स्वास्थ्य निर्देशिका बमोजिम अफगानबाट आएका सबैजनालाई हाल क्वारेन्टिनमा राखिएको छ । सीडीसीले दादुरा देखापरेकाहरुको सम्पर्कमा आएका ब्यक्तिको पहिचान गरिरहेको बताइएको छ ।
दादुरा अत्यन्तै बढी सङ्क्रामक रोग रहेको र बालबालिकाको ज्यान नै जोखिममा पर्न सक्ने भएकोले गम्भिर रुपमा लिइएको अमेरिकी अधिकारीहरुले बताएका छन् । खोपको कारणले दादुराको प्रकोप हाल अत्यन्तै कम भएको छ ।
उडान कहिलेसम्म स्थगित रहने सम्बन्धमा केही खुलाइएको छैन् । जर्मनीस्थित सैन्य शिविरमा हाल हजारौं अफगान नागरिक छन् । कतार, स्पेन र अन्य राष्ट्रले भने अफगानबाट उद्धार गरी ल्याइएकालाई अमेरिका प्रस्थानका लागि पर्खेको छ ।