अन्तर्राष्ट्रिय |

भारतको गुजरात राज्यका मुख्यमन्त्रीद्वारा राजीनामा

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । भारतको गुजरात राज्यका मुख्यमन्त्री विजय रुपाणीले राजीनामा दिनुभएको छ । उहाँले गुजरातको विकास प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा नयाँ नेतृत्वले गर्नेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार रुपाणीले शनिबार गुजरातका गर्भनर आचार्य देवव्रतलाई भेटेर आफ्नो राजीनामा बुझाउनुभएको छ । ६५ वर्षीय रुपाणीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भारतीय जनता पार्टी विचारले सञ्चालन हुने दल रहेकोले कार्यकत्र्ताको भूमिका परिवर्तन भइरहने बताउनुभयो । गुजरातमा विधान सभाको चुनाब हुन करिब एक वर्ष बाँकी रहदा मुख्यमन्त्री रुपाणीले राजीनामा दिनुभएको हो । उहाँ सन् २०१७ को अगष्ट सातमा मुख्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो ।
सन् २०१७ को विधान सभा चुनाबमा भारतीय जनता पार्टीले १८२ सिटको विधान सभामा ९९ सिट जितेको थियो । कँग्रेस आईले ७७ सिट जितेर प्रमुख प्रतिपक्षीको भूमिकामा छ ।