अन्तर्राष्ट्रिय |

अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्नुपर्ने

संयुक्त राष्ट्रसङ्घ, असोज १० गते । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहनुभएका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीतिक प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याउनुभयो ।

त्यसैले यस प्रक्रियाका लागि अफगानिस्तानमा हाल सत्तामा रहेका तालिबानहरुसँग सहकार्य गर्नुपर्ने र उनीहरुलाई शान्ति र अफगानिस्तानको स्थायित्वका लागि सहयोग पनि गर्नुपर्ने बताउनुभयो । उहाँले हाल अफगानिस्तानको अवस्था नाजुक रहेकाले सहयोग गर्न सबै विश्व समुदाय लाग्नुपर्नेमा पनि जोड दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको थियो । पाकिस्तानका प्रधानमन्त्री खानले पनि सयुक्त राष्ट्रसङ्घको ७६ औं महासभालाई शनिबार सम्बोधन गर्दै अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसङ्घमार्फत विश्व समुदायसमक्ष आग्रह गर्नुभएको थियो ।

उहाँले अहिले अफगानिस्तानको अवस्था निकै गम्भीर भइसकेको भन्दै यस देश र यहाँका जनतालाई सहयोग गर्न विश्व समुदाय पछि पर्न नहुने बताउनुभएको थियो ।