भारतमा थप १८ हजार सङ्क्रमित थपिए
नयाँदिल्ली, असोज १३ गते । भारतमा थप १८ हजार ८७० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या चार लाख ४७ हजार ७५१ पुगेको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दुई लाख ८२ हजार ५२० रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सङ्ख्या १९४ दिनपछिकै सवैभन्दा कम हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड २९ लाख ८६ हजार १८० पुगेको छ । तीमध्ये २८ हजार १७८ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् ।
पछिल्लो समय दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेको हो । पछिल्लो एक दिनमा देशभरि १५ लाख चार हजार ७१३ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म ५६ करोड ७४ लाख ५० हजार १८५ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।