कारागारमा कैदीहरुबीच भएको झडपमा ३० को मृत्यु, ५२ घाइते
क्वीटो, असोज १४ गते । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको सङ्ख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यसअघि २४ जनाको मृत्यु भएको र अरु ४२ जना घाइते भएका बताइएको थियो । मङ्गलबार भएको सो झडपमा परेर मृत्यु हुनेको सङ्ख्या बुधबार ३० पुगेको र घाइतेहरु ५२ जना पुगेको बताइएको छ ।
यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा परेर उनीहरु मारिएका हुन् । उनीहरु आफैँबीच भएको झडपका क्रममा धेरै जना घाइते भएका बताइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मङ्गलबार यहाँको समुद्री तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो ।
यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच आपसी झगडाका कारण यस्तो झडप हुन पुगेको बताएको छ । इक्वेडरका कारागारमा समयसमयमा यस्तो झडप हुने गरेको छ । गएको फेब्रुअरीमा पनि यहाँका तीन कारागारमा झडप भएको थियो र त्यसमा परेर ७९ जनाको ज्यान गएको बताइएको थियो ।