मानवीय सहायताको काममा अवरोध नगर्न राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घ, कात्तिक २६ गते । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले इथियोपियालाई यो आग्रह गरेको हो । इथियोपियाको टिग्रेमा मानवीय सहायताका लागि पठाइएका कम्तीमा पनि ७० ओटा ट्रक इथियोपियाको सरकारी सुरक्षा निकायहरुले नै नियन्त्रणमा लिएकाे जनाएको थियो ।
ती ट्रकहरु र ट्रक चालक तथा अन्य कर्मचारीहरुलाई तत्कालै मुक्त गर्न राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ताले माग गर्नुभएको छ । उहाँले बिहीबार विज्ञप्ति प्रकाशन गरेर मावनीय सहायता उपलब्ध गराउन गएका सबै सवारी साधन र कर्मचारीहरुलाई तत्कालै रिहा गर्न माग गर्नुभएको हो ।
इथियोपियामा पछिल्लो समयमा निकै समस्यामा परेका टिग्रेका नागरिकहरुका लागि आवश्यक खाद्यान्न र औषधि सहयोगस्वरुप त्यहाँ पठाइएको थियो ।
तर त्यहाँको सरकारले नै ती सहायता सामग्रीहरु नियन्त्रणमा लिएको र तिनको पछिल्लो अवस्था के कस्तो छ भन्ने बारेमा केही पनि थाहा हुन नसकेको पनि बताइएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले बिहीबार एक विज्ञप्तिमार्फत भन्नुभएको छ यस्तो सहयोगका लागि गएका सहायताकर्मी तथा सवारी साधनहरु नै सरकारले नियन्त्रणमा लिनु राम्रो नभएकोले तुरुन्त रिहा गरी सहायता उपलब्ध गराउने वातावरण मिलाउनुपर्छ ।
उहाँले ती ट्रकहरुको अवस्था के छ र कहाँ राखिएको तथा सवारी चालकहरुको पनि अवस्था के छ भन्ने बारेमा पनि इथियोपियन सरकारले केही नबताएको जानकारी दिनुभयो । उनीहरुको खोजी कार्य जारी रहेको र त्यसका लागि संयुक्त राष्ट्रसङ्घले यहाँको सरकारलाई आग्रह गरेको पनि उहाँले बताउनुभएको छ ।
इथियोपियाको सो टिग्रे क्षेत्रमा पछिल्लो समयमा हिंसा जारी छ । जसका कारण लाखौँ मानिसका लागि खाद्यान्नलगायतको मानवीय सहायताको अभाव छ । त्यसैले सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घले सहयता पठाएको थियो ।