अन्तर्राष्ट्रिय |

बङ्गलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु भएन   


ढाका, मङ्गसिर ५ गते । बङ्गलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सन् २०२० को अप्रिल ३ पछि पहिलो पटक शनिबार मात्र कोरोनाबाट मृत्यु नभएको हो ।    
    
यहाँ सन् २०२० को मार्च १८ मा कोभिडका कारण पहिलो पटक तीन जनाको मृत्यु भएको थियो । त्यसयता यहाँ कोभिडबाट मृत्यु नभएको दिन थिएन । गत अप्रिल ३ मा पनि यहाँ यसबाट एकजनाको ज्यान गएको थियो । त्यसयता हरेक दिन नागरिकको मृत्यु भएको छ । तर पछिल्ला केही समयमा भने यहाँ कोरोनाको असर केही घटेको पाइएको छ ।    
    
अधिकारीहरुले यहाँ ठूलो सङ्ख्याका नागरिकलाई खोप लगाइएको र बङ्गलादेशको सरकारले अपनाएको स्वास्थ्य मापदण्डका कारण यहाँ कोरोनाको प्रभाव घट्दै गएको हो । यहाँ पछिल्लो केही महिनामा यो भाइरसको सङ्क्रमण हुने दर र मृत्युदर पनि घटेको पाइएको छ । यहाँ शनिबारभन्दा अघिल्लो दिनसम्म पनि कोरोनाबाट मृत्यु त भएको छ र तर निकै थोरै सङ्ख्यामा र कुनै दिन एकजना मात्रको पनि कोभिडबाट निधन हुने गरेको छ ।