जापानमा पनि भेटियो ओमिक्रोन
जापान, मङ्सिर १४ गते । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित भेटिएको पुष्टि गरेका हुन् । गत आइतबार जापानको नारिता विमानस्थलमा ओर्लिएका एक यात्रुमा यस्तो सङ्क्रमण देखिएको अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार ओमिक्रोनबाट सङ्क्रमित ३० वर्षीय पुरुष नामिबियाबाट जापान आएका हुन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखिएको घोषणा गरेको थियो ।
त्यही भाइरस अहिले अन्य विभिन्न देशमा पनि देखिन थालेको छ । यसअघिको कोरोनाभाइरसभन्दा घातक यस ओमिक्रोनका कारण अहिले फेरि विश्वभरि त्रास छाएको छ ।
कतिपय देशले उच्च सतर्कताका उपाय अपनाएका छन भने कतिपयले लापरवाही गरेकाले उनीरुका देशमा पनि भित्रिएको छ । जापानमा भने सतर्कता अपनाउँदा अपनाउँदै पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको छ ।
टोकियोले गत शुक्रवार नै अफ्रिकी ६ मुलुकबाट जापान आउनेहरुलाई कम्तीमा १० दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको थियो । जापानले नयाँ विदेशी पर्यटकलाई सीमा बन्द गरिएको जनाएको छ । यस्तो नियम अन्य देशबाट आउनेलाई पनि बढाउदै लगिने तयारी भएको थियो ।
“कोरोनाभाइरसको महामारीविरुद्ध जापान सधैँ कठोररुपमा उभिएकै हो, अहिले ओमिक्रोनविरुद्ध पनि उत्तिकै कडारुपमा उभिनेछ,” प्रधानमन्त्री किशिदाले भन्नुभयो ।
उहाँले नयाँ भाइरसबाट जोगिन पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाड नगर्ने र प्रतिबन्धात्मक व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
जापानमा कोरोनाका कारण अहिलेसम्म १८ हजार तीन सयभन्दा बढीको मृत्यु भएको छ भने ७६.५ प्रतिशतलाई कोरोनाभाइरस विरुद्धको खोप दिइसकिएको छ ।
जापानमा यसअघि पनि महामारीलाई न्यूनीकरण गर्न भन्दै अधिकांश नाका बन्द गरिएको थियो भने विदेशबाट आउनेलाई परीक्षणमा कडाइ गरिएको थियो ।
अहिले पनि नयाँ भेरियन्ट ओमिक्रोन थप फैलिन नदिन र ठूलो मानवीय क्षति हुन नदिन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उच्च सतर्कता अपनाउन सबैलाई आह्वान गरेको छ ।
सङ्गठनले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने चेतावनी पनि दिएको छ ।
नयाँ भेरिएन्ट अफ्रिकी मुलुक बाहेक बेलायत, क्यानाडा, पोर्चुगल, बेल्जियम र नेदरल्याण्डलगायत थुप्रै देशमा पनि देखिइसकेको डब्लुएचओले जनाएको छ ।
नयाँ भेरिएन्ट पुष्टि भएपछि अमेरिका, बेलायत, युरोपेली सङ्घलगायत दर्जनौं देशले दक्षिण अफ्रिकी देशका नागरिकलाई आफ्नो देश आउन नदिने निर्णय गरिसकेका छन् ।
अस्ट्रेलियाले पनि सीमा प्रतिबन्ध खुकुलो पार्ने लामो समयदेखिको योजना स्थगित गरेको छ भने अस्ट्रेलिया जान चाहने विदेशी विद्यार्थी र कामदारलाई डिसेम्बर १५ तारिखसम्मका लागि जान नपाइने गराइएको छ ।
अमेरिका, बेलायतलगायतका देशमा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरण गर्न थोरै भए पनि सहयोग हुने विश्वासका साथ १८ वर्षमाथिका सबैलाई कोरोनाभाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा दिन थालिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले त घरभित्र बस्दा पनि मास्क लगाउन आह्वान गर्नुभएको छ । तर लकडाउन लगाउने कि नलगाउने भन्ने बारेमा भने स्पष्ट पार्नुभएको छैन ।