नयाँदिल्ली र मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुमा कडाइ
नयाँदिल्ली, पुस १६ गते । नयाँ दिल्ली र मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि यहाँ नयाँ वर्षका कार्यक्रमहरुमा कडाइ गरेको छ ।भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यहाँ कोरोनाको ओमिक्रोन भेरियन्ट झन् ठूलो मात्रामा बढेको छ ।
यहाँका सरकारहरुले कोरोना भाइरस र त्यसमा पनि ओमिक्रोनको प्रकोप बढेपछि नयाँ वर्ष मनाउन सार्वजनिक स्थानहरुमा गर्ने समारोह, मेला तथा जमघट लगायतका कुनै पनि कार्यक्रम नगर्न सूचना जारी गरेका हुन् । बिहीबार मात्र भारतभर १२७० जना ओमिक्रोनका सङक्रमित भेटिएका छन् । तीमध्ये नयाँ दिल्लीमा मात्र ३२० जना पाइएका छन् । त्यसपछि धेरै मुम्बईमा पाइएका छन् ।
यसरी प्रत्येक दिन ओमिक्रोन भेटिन थालेपछि सरकारले सार्वजनिक स्थलहरुमा हुने विविध कार्यक्रमहरुमा प्रतिबन्ध लगाएको बताइएको छ । भारतको राजधानी नयाँ दिल्ली तथा आर्थिक राजधानी मानिने भारतीय ठूलो सहर मुम्बइमा नयाँ वर्षका कार्यक्रमहरुको आयोजना गरिएको र त्यसका कारण झन् सङ्क्रमण बढ्ने आशंका गरेका कारण सरकारले सार्वजनिक स्थलमा जमघट हुने र नयाँ वर्षका कार्यक्रम गर्ने काममा प्रतिबन्ध लगाएको हो ।
दिल्ली सरकारले यसअघि नै रातिमा कफ्र्यु नलगाइने तर मानिसहरु जमघट हुने र समारोहहरु गर्ने काममा प्रतिबन्ध लगाइएको जनाएको छ । नयाँदिल्ली राज्यका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले गत हप्तामात्र यहाँ प्रत्येक दिन कम्तीमा पनि १५० जना मात्र सङ्क्रमित पाइएकामा हिजोआज दिनहुँ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताउनुभयो ।