कम्बोडियामा २० दिन यता कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शून्य
होमपेन्ह्, माघ १० गते । कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ । स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो ।
कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको सङ्ख्या भने बढिरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो समयमा ४० जना नयाँ सङ्क्रमित थपिएसँगै ओमिक्रोनभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ६२५ पुगेको छ ।
“नयाँ थपिएका ४० सङ्क्रमितमध्ये १५ जना देश बाहिरबाट आएकाहरुमा देखिएको हो भने अरु २५ जना देशभित्रैबाट सरेको देखिएको छ,” मन्त्रालयको वक्तव्यमा लेखिएको छ ।
दक्षिणपूर्वी एसियाली यस मुलुकमा ओमिक्रोनको सङ्क्रमण सबैभन्दा पहिलो पटक सन् २०२१ को डिसेम्बर १४ मा देखिएको थियो । अफ्रिकी मुलुक घानाबाट आएकी कम्बोडियाली गर्भवती महिलामा पहिलो सङ्क्रमण पुष्टि भएको हो ।
कम्बोडियाका प्रधानमन्त्री हुनसेनले ओमिक्रोनबाट सङ्क्रमित सबैलाई चाहेको अवस्थामा घरमै उपचारको व्यवस्था गरिने घोषणा शुक्रबार गर्नुभएको छ ।
कोरोनाभाइरसको महामारीको सुरुवात भने कम्बोडियामा सन् २०२० को जनवरीदेखि भएको मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि अहिलेसम्म कम्बोडियामा कारोनाभाइरसबाट एक लाख २१ हजार ६६ जना सङ्क्रमित भएका छन् ।
कुल सङ्क्रमितमध्ये तीन हजार १५ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजार २३२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
देशको कुल जनसङ्ख्याको ८९.६ प्रतिशतले कोरोनाभाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएको तथ्याङ्क छ । कम्बोडियामा चीनमा बनेको सिनोभ्याक र सिनोफार्म खोप प्रयोग गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।