अहमदाबादमा शृङ्खलाबद्ध बम विस्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय
काठमाडौं, फागुन ६ गते । सन् २००८ जुलाई २६ तारिखका दिन अहमदाबादमा भएको शृङ्खलाबद्ध बम विस्फोटको घटनामा संलग्न ३८ जनालाई भारतको विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । सन् २००८ को अहमदावादको मणिनगरमा भएको बम विस्फोटमा ५६ जनाको मृत्यु र दुई सयभन्दा बढी घाइते भएका थिए ।
अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । बम विस्फोटमा ७७ जना आरोपी मध्ये ४९ जना दोषी ठहर र २८ जनाले सफाइ पाएका छन् ।
करिब १३ वर्षसम्म चलेको सुनुवाइमा एक हजार १६३ जनाले बयान दिएका थिए । साथै, प्रहरीले छ हजार प्रमाण पेश गरेको आजतकले जनाएको छ ।