अन्तर्राष्ट्रिय |

अमेरिकी र चिनियाँ विदेशमन्त्री फोनवार्ता


बेइजिङ, फागुन २२ गते । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच फोनमा कुराकानी भएको छ ।उहाँहरुका बीचमा शनिबार कुराकानी भएको बताइएको छ । सो फोनवार्ताका क्रममा उहाँहरुका बीचमा चीन र अमेरिकाको सम्बन्ध तथा द्विपक्षीय हितका अरु विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।

उहाँहरुका बीचमा पछिल्लो समयमा विकसित भएको विश्व राजनीतिका बारेमा पनि कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।युक्रेनमा रुसले गरेको हमलाको अमेरिकाले विरोध गर्दै आएको छ । यससम्बन्धी धारणा ब्लिन्केनले चिनियाँ विदेशमन्त्रीसमक्ष राख्नुभएको थियो ।

उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीनले त्यो देख्न नचाहेको बताउनुभएको थियो ।युक्रेनमा रुसले गएको एक हप्तभन्दा लामो समयदेखि हमला गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्तिवार्ता हुने बताइएको छ ।