पश्चिम युक्रेनमा रूसी सेनाकाे हमला तीव्र, युक्रेनी सैन्य शिविरमा हवाई हमला
काठमाडौं, फागुन २९ गते । रुसी सेनाले पोल्याण्डको सीमा नजिक रहेको लिभ शहरको सैनिक छाउनीमा क्षेप्यास्त्र हमला गरेको छ ।
युक्रेनको उत्तर, उत्तरपूर्वी र दक्षिणतिरबाट आक्रमण गरेपछि पश्चिम युक्रेनमाथि कुनै हमला गरेको थिएन ।
सीएनएनका अनुसार स्थानीय समय अनुसार बिहान ६ बजे रुसले आठवटा क्षेप्यास्त्र हमला गरेको छ ।
मानवीय क्षतिबारे स्थानीय प्रशासनले खोजीकार्य जारी गरेको छ ।
लिभ शहर विश्वसम्पदा सूचीमा सूचीकृत भएको सांस्कृतिक शहर हो ।
यसैबीच, अलजजिराका अनुसार लिभभन्दा पनि पश्चिमतिर पोल्याण्डको सीमा नजिक रहेको सानो शहर याभोरिभमा रहेको युक्रेनी सैन्य आधार शिविरमा हवाई आक्रमण गरेको छ ।
पाेल्याण्डकाे सीमा र याभोरिभ शहरबीच करिब २५ किलाेमिटरकाे दूरी पर्दछ ।
पश्चिमी युरोपको प्रमुख नाकामा रहेको यस लिभ हुँदै याभोरिभबाट लाखौं शरणार्थीहरुले युक्रेन छाडेका थिए ।
उता, पोल्याण्ड, स्लाभाकिया, हङ्गेरी र रुमानिया नजिक रहेको दक्षिण पश्चिम युक्रेनी शहर इभानो फ्राकिभ्समा रहेको अन्तराष्ट्रिय विमानास्थलमा पनि रुसी हमला तीव्र भएको छ ।
यसैबीच, दुईदिन अघि पश्चिमी युक्रेनमाथि हमला तेज गर्दै रुसी सेनाले लुस्कस्थित अन्तर्राष्ट्रिय विमानास्थल कब्जामा लिएको थियो ।
भोल्यन क्षेत्रका गभर्नरका अनुसार रुसले चारवटा क्षेप्यास्त्र प्रहारपछि दुईजना मारिएका थिए ।