अन्तर्राष्ट्रिय |

भारतमा कोरोनाबाट थप दुई हजार ५०३ सङ्क्रमित

नयाँदिल्ली, फागुन ३० गते । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

भारतमा कोरोनाभाइरस सङ्क्रमणको अहिलेसम्म पाँच लाख १५ हजार ८७७ को मृत्यु भएको छ । तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जाइएको छ । भारतमा हालसम्म कूल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड २९ लाख ९३ हजार ४९४ रहेको समाचारमा जनाइएको छ ।

योसँगै भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या भने ३६ हजार १६८ रहेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.८ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा चार हजार ३७७ कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख ४१ हजार ४४९ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमणमुक्त दर ९८।७२ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

गत आइतबार एकै दिनमा भारतमा पाँच लाख ३२ हजार २३२ को कोरोना परीक्षण गरिएको छ । भारतमा कोरोना शुरु भएबाट हालसम्म ७७ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भइसकेको छ । भारत सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म कोरोना भाइरसविरुद्धको एक अर्ब ८० करोड १९ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।