अन्तर्राष्ट्रिय |

युक्रेन युद्ध : सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी– युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय सङ्घसङ्गठनहरूले बुधबार जानकारी गराएका छन्। रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कुल सङ्ख्या तीस लाखभन्दा बढी पुगेको राष्ट्रसङ्घको प्रारम्भिक तथ्याङ्क छ।

‘अहिले युक्रेनबाट छिमेकी देशहरूमा मानिसहरूको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छाैं। यीमध्ये लगभग एक लाख ५७ हजार तेस्रो देशका नागरिक रहेका अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम) का प्रवक्ता पल डिलनले जेनेभामा बताउनुभयो। ‘फेब्रुअरी २४ मा रूसी आक्रमण सुरु भएदेखि अहिले लगभग १५ लाख बालबालिका यूकुरेनबाट बाहिरिएका छन्। गत २० दिनको दौडान युक्रेनमा हरेक दिन ७०,००० भन्दा बढी केटाकेटी शरणार्थी भएका छन्’, डिलनले भन्नुभयो।

संयुक्त राष्ट्र बालकोषका प्रवक्ता जेम्स एल्डरले भन्नुभयो, ‘हरेक मिनेट ५५ जना बालबालिका युक्रेन छोडेर विदेशिने गरेका छन्।’

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये नौ जना महिला तथा केटाकेटी रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसङ्घको सञ्चार मामिला हेर्ने सङ्गठन (यूएन न्युज) ले उल्लेख गरेको छ। युवाहरू अपरिचित नयाँ वातावरणमा आइपुग्दा तस्करहरूको सिकार भइरहेको आशङ्का पनि गरिएको छ।

जेम्स एल्डरले भन्नुभयो, ‘मैले भ्रमण गरेको सीमाक्षेत्र खासगरी मेडीका, पोल्याण्डदेखि युक्रेनको राजधानी कीभसम्म कीभबाट आएको जनाउँदै कीभ नाम उच्चारण गर्ने हजारौँ मानिसहरू शहरहरूको बस र मिनीबस वरिपरि व्यवस्थापनको खोजीमा उभिरहेका भेटेको थिएँ। उनीहरू कम्तीमा पनि एक हप्ताअघि ती सीमाहरूमा पुगेका थिए।’ रासस/एएनआई