हतियार त्याग्न रुसी सेनाले दिएको अल्टिमेटम अस्वीकार
काठमाडौं, चैत ७ गते । दक्षिणपूर्वी बन्दरगाह शहर मारियोपोल शहरमा रहेका युक्रेनी सेनाले हतियार त्याग्न रुसी सेनाले दिएको अल्टिमेटम युक्रेनले अस्वीकार गरेको छ । रुसी समय अनुसार बिहान ५ बजेसम्म दुई हप्ताभन्दा बढी घेराबन्दी गरेर हमलामा उत्रेको रुसी सेनाले युक्रेनी सेनालाई आत्मसमर्पण गरे शहरबाट बाहिर निस्कने दिने उर्दी जारी गरेका छन् ।
तर मारियोपोलका अधिकारीहरुले रुसी सैन्य हस्तक्षेप अस्वीकार गदै अन्तिम समयसम्म लड्ने प्रतिक्रिया दिएका छन् । अलजजिराका अनुसार धेरै पटक भएका शान्तिवार्ता र आंशिक युद्धविरामले सो क्षेत्रमा सार्थकता पाएकाे छैन ।
करिब साढे चार लाख जनसङ्ख्या भएको सो शहरमा रुसी सेनाले अजोभ समुन्द्र पुग्ने युक्रेनको पहुँच समाप्त पार्दै मानवीय सहयोगका लागि युक्रेनी सेनाले हतियार त्याग्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।
लामो समयदेखि घेराबन्दीमा परेपछि मारियोपोलमा मानवीय सङ्कट बढिरहेको छ । युक्रेनी सेनाले हतियार त्यागे रुसले शहरबाट बाहिर निस्कने एक पूर्वी नाका र पश्चिमी नाका खुला राख्ने बताएको छ ।
हिजो आइतबार रुसी सेना शहरको भित्री भागमा प्रवेश गरेको थियो । रुसी हमलामा परेर त्यहाँका सर्वसाधारण नागरिकको हताहती भएको छ ।