भारतमा कोरोनाभाइरसबाट थप १५ सय नयाँ सङ्क्रमित
नयाँदिल्ली, चैत ८ गते । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा झण्डै १५ मानिस सङ्क्रमित भएका छन् । “दैनिक सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा कम भएको अहिले तेस्रो दिन हो,” सरकारी एक अधिकारीले पत्रकारहरुसँग भने ।
भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको सङ्घीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यही मार्च १९ का दिन दुई हजार ७५ जना सङ्क्रमित भएको देखिएकोमा त्यसको भोलिपल्ट मार्च २० मा एक हजार ७६१ जना मात्रै सङ्क्रमित भएका थिए । त्यसैगरी, मार्च २१ मा एक हजार ५४९ मा झरेको थियो ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड ३० लाख १० हजार ९७१ पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ७४१ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिले दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढ्दै गइरहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म पाँच लाख १६ हजार ५१० जनाको मृत्यु भएको छ । तीमध्ये ३१ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।