अन्तरवार्ता |

‘गुरुयोजना तयार पारेर काम गरिरहेका छौँ’

ललितपुर जिल्लाका साबिकका बुखेल, मानीखेल, गोटीखेल, कालेश्वर, चन्दनपुर र ठूलादुर्लुङ गाविस समेटिएर हाल छवटा वडा कायम गरी महाँकाल गाउँपालिका बनाइएको छ । गाउँपालिकाको दस वर्षे गुरुयोजना निर्माण गरी विकास निर्माण र सुशासनको काम गर्ने गरी गाउँपालिकाले नियमित सेवा प्रवाह गर्दै आएको छ । उक्त गाउँपालिकामा साबिक एमालेका तर्फबाट निर्वाचित अध्यक्ष रामचन्द्र दाहालसँग यसै सेरोफेरोमा गोरखापत्रका पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानी ः

 स्थानीय तहको निर्वाचन भएको साढे तीन वर्ष पूरा भएको छ । यस अवधिमा महाँकाल गाउँवासीले अनुभूति गर्नेगरी के–कस्ता काम भएका छन् ?

हामी निर्वाचित भएर आएपछि सबै वडाका टोलटोलमा बाटो पु¥याएका छौँ । दुई हजार घरपरिवारभन्दा बढीलाई ‘एक घर एक धारो’ पु¥याएका छौँ । अब धारो पु¥याउन बाँकी तीन सय घर बाँकी छन्, त्यो पनि यो वर्ष पूरा हुन्छ । गाउँपालिकाभित्र ४० प्रतिशत घरमा बिजुली बत्ती बल्न बाँकी थियो । हामी निर्वाचित जनप्रतिनिधिका रूपमा आएपछि अहिले सबै घरमा बिजुली बत्ती पुगेको छ । अहिले सबै वडा कार्यालय, हेल्थ पोस्टमा इन्टरनेटको सुविधा पुगेको छ । यो वर्ष सबै विद्यालयका भौतिक पूर्वाधार निर्माण भइसक्ने छन् । हामीले यो बीचमा बुखेल हेल्थ पोस्ट, चन्दनपुर हेल्थ पोस्ट, ठूलादुर्लङ हेल्थ पोस्ट र कालेश्वर हेल्थ पोस्टको लागि जग्गा किनेर भवन बनाएका छौँ । गाउँपालिकाका ६ वटै वडामा रहेको हेल्थ पोस्टमा यस वर्षभित्र भवन निर्माण सम्पन्न भइसक्ने छन् । गाउँपालिका वडा नं. २ स्थित खोरभञ्ज्याङमा पालिका स्तरीय १५ शøयाको अस्पताल सुरुवात गरिने छ । सबै विद्यालयमा प्रत्यक्ष अनुभूति हुनेगरी शैक्षिक सुधारका काम भएका छन् । विद्यालयको प्रशासनिक सुधार मावि र निमावि कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्मका विद्यालयमा आईसीटी क्लासको बेस बनाएका छौँ । कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान ल्याबको व्यवस्था गरेका छौँ ।

 यो गाउँपालिका कृषिका लागि उर्वर भूमि पनि हो ? कृषिलाई व्यवसायीकरण गराउने काममा गाउँपालिकाले के–के काम गरेको छ ?

कृषिको सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्न कृषिलाई आधुनिकीकरण गर्दै कृषिलाई व्यावसायिक फर्मका रूपमा विकास गर्ने गरी काम गरेका छौँ । कृषि उत्पादनको बजारीकरणका लागि चारवटा सेन्टर बनाएर सहकारीमार्फत काम गरेका छौँ । यसका लागि पूर्वाधार तयारी गरेका छौँ । उक्त चारवटा सेन्टर टोल–टोलबाट गाडीले तरकारी सङ्कलन गरी ल्याउने र उक्त केन्द्रबाट उपत्यकामा तरकारी पठाउने व्यवस्था गरेका छौँ । युवालाई कृषिमा आकर्षित गरेका छौँ । कृषि उपजलाई बजारसम्म पु¥याउन गाउँपालिकाले सहजीकरण गरिरहेको छ । यस वर्ष हामीले ६ वटै वडामा दुग्ध चिस्यान केन्द्र निर्माण गरिसक्ने छौँ । ४ वटा वडामा पूरा भइसकेको छ । अब दुईवटा वडामा पूरा गर्ने छौँ । सीपमूलक तालिमको व्यवस्था गरेका छौँ, सीप सिकेर युवालाई रोजगार बनाउने तालिम प्रदान गरिएको छ ।

 गाउँपालिकाले सुशासन र जबाफदेहितासम्बन्धी के गरेको छ ?

नागरिकलाई दैनिक सुशासनको अनुभूति दिलाउने काम गरेका छौँ । जसका लागि हामीले २५ वटा कानुन निर्माण गरिसकेका छौँ । कतिपय कानुन निर्माणका क्रममा छन् । सबै वडामा इन्टरनेटको व्यवस्था गरेर कामलाई प्रविधिमैत्री बनाएका छौँ । गाउँपालिकाको आफ्नै वेबसाइट निर्माण गरी गाउँपालिकाका काम, नयाँ सूचना, जानकारी र निर्णयहरूको जानकारी राख्दै गाउँपालिकाको कामलाई सूचनामैत्री बनाएका छौँ । नागरिकले जान्न चाहेका गाउँपालिकाका सूचना टेलिफोन गरेर वा पालिकामा आएर पनि सहजरूपमा लिनसक्ने व्यवस्था गरेका छौँ । यस वर्ष हामीले गाउँपालिकाको प्रशासनिक भवन बनाउन जग्गा खरिदसमेत गरेका छौँ ।

 निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिबद्धता यस अवधिमा कति प्रतिशत पूरा हुनसके ?

हामी निर्वाचित भएको यस अवधिमा जनतासामु गरिएका वाचा र घोषणापत्रमा उल्लिखित करिब ८० प्रतिशत काम सम्पन्न गरेका छौँ । हामीले सडक पिच गर्ने कुरा घोषणा पत्रमा उल्लेख गरेका थियौँ । त्यो सम्पन्न हुनसकेको छैन तर यस वर्ष गाउँपालिका आफैँले सडक पिच गर्ने काम सुरु गर्छ । अहिलेसम्म कतिपय सडकको ट्र्याक खोल्ने काम भएको छ । यस वर्ष हामीले उक्त सडकलाई पक्की बनाउन सुरु गरेका छौँ ।
प्रत्येक वडामा पक्की ड्रेन र ग्राभेल गर्ने काम यो वर्ष सुरु भएको छ । अहिले चन्दनपुरको ठूलो खोलामा पक्की पुल बन्न सुरु भएको छ । जनताको मागअनुसार आवश्यक शिक्षा, खानेपानी, पूर्वाधारको विकास लगायतका काम भने भइरहेका छन् । महाँकाल गाउँपालिकालाई सन् २०३० सम्ममा कस्तो गाउँपालिका बनाउने भन्ने गुरुयोजना निर्माण गरिसकेका छौँ । अहिले सोही योजनाअनुसार काम भइरहेको छ । उक्त गुरुयोजना र चुनावमा बनाएको घोषणा पत्रलाई मिलाएर काम गरिरहेका छौँ ।

 कोरोना रोकथाम र नियन्त्रणमा गाउँपालिकाले के कस्ता अभियान चाल्यो ?

कोरोना रोकथाम र नियन्त्रण कार्यमा सरकारले गरेको नीति र निर्देशनअनुसार काम गरेका छौँ । स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्ने, आम नागरिकलाई कारोना भाइरसबाट बच्न सचेतना प्रदान गर्ने, पीसीआर टेस्टमा आवश्यक समन्वय गर्ने, क्वारेन्टाइनको व्यवस्थापन गर्ने, विदेशबाट गाउँपालिकामा फर्केका नागरिकका लागि आवश्यक व्यवस्था गर्ने, कर्मचारी र जनप्रतिनिधिको पीसीआर टेस्ट गराउने सबै हेल्थपोस्टमा स्वास्थ्य सामग्री पु¥याउने काम तदारुकतासाथ ग¥यौँ । आफ्नो साधन र स्रोतले भ्याएसम्म गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्य गरेको छ ।

 जनप्रतिनिधिका काम गराइबाट नागरिक कतिको सन्तुष्ट भएको पाउनुभएको छ ?

यस अवधिमा हाम्रा कामबाट सन्तुष्ट नै भएको अनुभव गरेका छौँ । विकास निर्माणका अधिकांश काम उपभोक्ता समितिले गरेका छन् । सो काम जनता आफैँले गरेकाले सन्तुष्ट भएको पाइएको छ । गाउँपालिकाले बजेटको व्यवस्थापन, सुशासन र आवश्यक समन्वय गर्ने हो, काम त जनता आफैँले गर्ने हो ।

 यस अवधिमा काम गर्नेक्रममा के–कस्ता चुनौती सामना गर्नुभयो ?

गाउँपालिकालाई व्यवस्थित गर्न नै प्रमुख चुनौती रह्यो । हामी निर्वाचित भएर आउँदा गाउँपालिका अस्तव्यस्त थियो । लामो समयपछि स्थानीय तहको निर्वाचन भएकाले त्यसमा पनि नयाँ अभ्यासमा निर्वाचन भएकाले यसलाई स्थापित गराउनु पनि चुनौतीका रूपमा रह्यो । कर्मचारी व्यवस्थापन अर्को चुनौतीका रूपमा रहेको छ । अहिले पनि कर्मचारी अपुग नै रहेका छन् । कानुनको अभावले कतिपय काममा बाधा पर्नु लगायतका विषय यस अवधिको चुनौतीको रूपमा रहेको छ ।

 तपाईं साबिक स्थानीय निकायमा र अहिले स्थानीय तहमा पनि प्रतिनिधि भएर काम गर्दा फरक के पाउनुभयो ?

साविक स्थानीय निकायमा सीमित बजेट हुन्थ्यो, अधिकांश काम केन्द्र सरकारमै भर पर्नुपथ्र्यो । निर्देशन केन्द्र सरकारकै मान्नुपथ्र्यो । अरूले बनाएको कानुन कार्यान्वयन गर्नुपर्ने थियो । अहिले भने स्थानीय सरकारकै हैसियतामा हामीले काम गरिरहेको छौँ । स्थानीय निकाय र स्थानीय सरकारमा तुलनै गर्न नसकिने फरक छ । अहिले आफैँले कानुन बनाउने र आफैँले कार्यान्वयन गर्ने स्थानीय तहमा कार्यापालिका, न्यायपालिका र व्यवस्थापिका सरकारका तीनवटै अङ्ग छन् ।