‘स्थानीय बासिन्दा खुसी हुने गरी काम गरेका छौँ’
सांस्कृतिक सहरका रूपमा चिनिने मध्यपुर थिमि नगरपालिकाले स्थानीय तहको निर्वाचनपछि पुरातात्त्विक रूपमा सम्पदा पुनर्निर्माण, जापानिज प्रविधिबाट फोहोरलाई कम्पोस्ट मल बनाउने, स्वास्थ्य पूर्वाधार निर्माण र व्यवस्थित बस्ती विकासको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ । स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा भएका विकासनिर्माणको सम्बन्धमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँग गोरखापत्रका पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानी :
सांस्कृतिक सम्पदाको सहर भनेर चिनिने मध्यपुर थिमिमा स्थानीय तहको निर्वाचनपछि के कस्ता परिवर्तन भए ?
मध्यपुर थिमि नगरपालिकाले भूकम्पपछिको सम्पदा पुनर्निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्दै जीर्ण बनेका र पुनर्निर्माण गर्नुपर्ने अधिकांश सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पु¥याएको छ । पुनर्निर्माण गरिएका सम्पदामा पाटी, सत्तल, मन्दिर, पुराना दरबार, ढुङ्गेधारो, पोखरी, प्रवेशद्वार, सिँढी, डबली, पार्क र विद्यालयका भवन छन् । पुनर्निर्मित सबै सम्पदा पुराताìिवक शैलीमै छन् । पुनर्निर्माण भएका सम्पदा नगरपालिकाको आन्तरिक स्रोतबाटै निर्माण गरिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातìव विभागको बजेटले सम्पदा पुनर्निर्माण गर्दा टेन्डर प्रक्रियाबाट काम गर्नुपर्ने, टेन्डर प्रक्रियाबाट काम गर्दा पुराताìिवक सीप, कला नदेखिने भएकाले नगरपालिकाको आफ्नै स्रोतबाट पुनर्निर्माण गरिएको सम्पदामा स्थानीय उपभोक्ता समितिको प्रत्यक्ष निगरानीमा सीपयुक्त शिल्पकारको मेहनतबाट काम हुने भएकाले सम्पदा पुनर्निर्माणको सबै काम स्थानीय उपभोक्ताबाटै गरिएको हो । नगरपालिकाले मूर्त सम्पदासँगै अमूर्त सम्पदा र संस्कृतिको पनि संरक्षण गरेको छ । नगरपालिकाले ४५ वर्षदेखि हुन नसकेको भैरव नाँचलाई पुनः निरन्तरता दिएको छ । २३ वर्षदेखि हुुन नसकेको महाकाली, अष्टमातृका र भष्मासुरलगायतका नाँच लोपोन्मुख अवस्थामा पुगेकाले नगरपालिकाले उक्त नाँचलाई पुनः ब्युताउने काम गरेको छ । त्यस्तै नौ बाजा र नायकी बाजालगायतका अमूर्त कलालाई संरक्षण गर्ने काम गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणसँगै स्वास्थ्य पूर्वाधार निर्माणमा गरेका ठोस कार्य के के हुन् ?
स्वास्थ्य क्षेत्रमा हामीले नमुना काम गरेका छौँ । नगरपालिकाको नगर अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्वास्थ्य पूर्वाधार निर्माण गरी सेवा प्रवाह गरिरहेका छौँ । नगरपालिकाले आवासीयसहितको ७० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको, नगर अस्पतालमा अक्सिजन थेरापीका लागि इमर्जेन्सी सेवा, १४ बेडको एचडीयू, १५ बेडको आईसीयू, १० वटा भेन्टिलेटर सहयोग प्राप्त भएको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरेका छौँ । उक्त अक्सिजन प्लान्टले पनि कोरोनाका बिरामीलाई अपुग भएपछि अमेरिकाबाट ६३ वटा अक्सिजन कन्सन्ट्रेटर ल्याएर सेवा पु¥याएका छौँ । अब अस्पताल अक्सिजनमा आत्मनिर्भर भएको छ । अक्सिजनको अभावमा कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था नआउने भन्ने विश्वासमा हामी छौँ । पीसीआर ल्याब सञ्चालन गरिएको छ । अस्पतालले कोभिड एम्बुलेन्स, जर्नल एम्बुलेन्स, कोभिड अप्रेसन वार्ड निर्माण गरी सेवा प्रवाह गरिएको छ । अस्पतालले अन्य रोगका बिरामीलाई विभिन्न सेवा सञ्चालन गरी सेवा प्रवाह गर्दै आएको छ ।
नगरपालिका क्षेत्रभित्र पुरानो र नयाँ दुवै प्रकारका बस्ती छन् । अतः नगरपालिकाले व्यवस्थित बस्ती विकास गर्न के काम गर्दै छ ?
मध्यपुर थिमि नगरपालिकाले नगरपालिकाको पुरानो बस्तीबाहेकको ६० प्रतिशत क्षेत्रमा व्यवस्थित सहर निर्माण गर्न लागेको छ । उक्त क्षेत्रमा नगरवासीलाई दीर्घकालीन सुविधा, बसोबासका लागि भौतिक सहजता प्रदान गर्न व्यवस्थित र सुविधासम्पन्न सहर निर्माणको काम अगाडि बढाएको छ । नगरपालिकाको कुल क्षेत्रफल ११ दशमलव ४७ वर्गकिलोमिटर रहेकोमा मध्यपुर थिमिको पुरानो बस्ती चार वर्गकिलोमिटर बाहेकको बाँकी सात वर्ग किलोमिटर क्षेत्रको ६० प्रतिशत क्षेत्रमा व्यवस्थित सहर निर्माण गरिनेछ । नगरपालिकाले व्यवस्थित सहर निर्माण गर्न लागिएको क्षेत्रमा पर्याप्त भौतिक पूर्वाधारसहितको व्यवस्थित, सुविधासम्पन्न भवन र आवासीय पूर्वाधार निर्माणका लागि बस्ती विकासको काम अगाडि बढाइने छ । अहिले नगरपालिका क्षेत्रमा व्यवस्थित बस्ती विकासका लागि कमेरेटार जग्गा एकीकरण आयोजना, बोडेको सिन्जिटार, दिव्यश्वरी र मनोहरा जग्गा एकीकरण आयोजना सञ्चालित छन् । त्यस्तै कुण्डोल हार्डोल, काँडाडोल, बुढाथोकी आयोजना, राधेराधे जग्गा एकीकरण आयोजना, खेगु जग्गा एकीकरण आयोजना सञ्चालन गरी ऐनअनुसार नै व्यवस्थित सहर निर्माण गर्न लागिएको हो । अबको तीन महिनादेखि पाँच वर्षसम्ममा क्रमिक रूपमा सबै आयोजना सम्पन्न भइसक्ने छन् । सञ्चालित सबै आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि मध्यपुर थिमि नगरपालिका व्यवस्थित सहरका रूपमा स्थापित हुनेछ ।
पुरानो घना बस्ती भएको यस नगरपालिकामा फोहोर व्यवस्थापनका लागि नगरपालिकाले के काम गरेको छ ?
करिब तीन वर्ष अगाडि जापानको टोबा सहरमा जापानिज प्रविधिको मल उत्पादन गरिएको स्थलगत रूपमा अवलोकन गरी नगरपालिकाले जापानिज प्रविधिबाट फोहोरलाई कम्पोस्ट मल उत्पादन गर्न सुरु गरेको हो । काठमाडौँं उपत्यकामा फोहोर व्यवस्थापन कार्य चुनौती बन्दै गइरहेका बेला घरबाट निस्कने कुहिने फोहोरलाई गन्धरहित रूपमा कम्पोस्ट मल बनाउनका लागि नगरपालिकाले मल उत्पादन कार्यलाई अहिले प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न लागेको छ । अहिले विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, कृषक, विद्यार्थी र वातावरणविद् जनप्रतिनिधिले स्थलगत रूपमा अनुगमन गरी जापानिज प्रविधिको मल उत्पादन कार्यप्रति चासो राख्ने गरेका छन् । नगरपालिकाले फोहोरलाई मल उत्पादन गर्न करिब साढे तीन करोड रुपियाँ लागतमा भौतिक पूर्वाधार निर्माण गरेको छ । उत्पादित मल व्यावसायिक कृषि फर्म र राष्ट्रपति कार्यालयको बगैँचामा समेत प्रयोग गर्ने गरिएको छ ।
उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका नगरपालिकाले उपत्यका नगरपालिका फोरम निर्माण गरिएको छ, फोरमले उपत्यकाको एकीकृत विकासका लागि के काम गर्दै छ ?
उपत्यकामा १८ वटा नगरपालिका भए पनि यसलाई एउटै प्रशासनिक एकाइ मान्दै काम गर्ने उद्देश्यले उपत्यका नगरपालिका फोरम निर्माण गरिएको हो । कोरोना रोकथाम र नियन्त्रण कार्यमा उपत्यकाका सबै नगरपालिकाले समान दृष्टिकोण बनाई कोरोनाविरुद्ध सामूहिक लडाइँ लड्दै आएका छन् । उपत्यकाका नगरपालिकाको विकासनिर्माणमा कतिपय अवस्थामा उपत्यका विकास प्राधिकरणले बाधा सिर्जना गरेकाले उपत्यकाका सबै नगरपालिकाले प्राधिकरण खारेजको माग गरेका छन् । अन्तरपालिका समन्वय गरी सबै नगरपालिकाको सामूहिक प्रयास र विशेषगरी काठमाडौँ महानगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणको काम गरेको छ । उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका सबै नगरपालिका सम्मिलित छुट्टै संयन्त्र ‘उपत्यका विकास परिषद्’ निर्माण गर्नुपर्ने र उक्त परिषद्ले अन्तरपालिकासँग समन्वय गर्दै सामूहिक लगानीमा सामूहिक विकासका आयोजना सञ्चालन गर्ने गरी फोरमले काम गर्दै छ । उक्त परिषद्ले उपत्यकाको हरियाली प्रवद्र्धन गर्ने, फोहोर व्यवस्थापन गर्ने, सडक जाम नियन्त्रण गर्ने, खानेपानी र सांस्कृतिक सम्पदाको जर्गेना गर्ने गरी योजना बनाइएको छ ।
स्थानीय तहको निर्वाचनका समयमा स्थानीय बासिन्दा सामु गरिएको वाचा यहाँसम्म आइपुग्दा कति प्रतिशत जति पूरा भएका छन् ?
घोषणापत्रमा जुन कुरा उल्लेख गरिएका थिए, अहिले सोहीअनुसारको काम हामीले गरिरहेका छौँ । निर्वाचनका क्रममा घोषणापत्रमा उल्लिखित शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सांस्कृतिक सम्पदा पुनर्निर्माण, कृषि, फोहोर व्यवस्थापनलगायतका कुरा उल्लेख गरिएको थियो । अहिले उक्त सबै काम धमाधम भइरहेका छन् । कतिपय काम सम्पन्न हुने क्रममा छन् र कतिपय काम भौतिक रूपमै भइरहेका छन् । पाँच वर्षमा गर्ने भनिएको काम चार वर्षसम्ममा आइपुग्दा अधिकांश काम सम्पन्न नजिक पुगेका छन् । घोषणापत्रमा उल्लिखित शतप्रतिशत काम हुन नसके पनि घोषणापत्रकै ट्र्याकमा अहिले काम धमाधम भइरहेका छन् । चार वर्षअगाडि मध्यपुर थिमि आएका व्यक्ति र अहिले मध्यपुर थिमि आउँदा तीनछक्क पर्ने गरी हामीले विकासको काम गरेका छौँ । कोरोनाका कारणले कतिपय काममा बाधा सिर्जना भए पनि उक्त बाधालाई पन्छाएर भए पनि काम गरिरहेका छौँ । यस पाँचौँ वर्षभित्रमा जनता सामु गरिएका सबैजसो काम सम्मन्न गरिसक्ने गरी काम गर्दैछौँ ।