लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
निजामती सेवामा पदपूर्तिका समस्या
१. सामाजिक सञ्जालका फाइदाहरू लेख्नुहोस् ।
आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, फोटो वा भिडियो कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधिमार्फत आदानप्रदान गर्न प्रयोग गरिने माध्यम सामाजिक सञ्जाल हो । यो समुदायमा आधारित सामग्री आदानप्रदान गर्ने सञ्चार च्यानल भएकाले यसलाई सामाजिक सञ्जाल भनिएको हो । यो सूचना आदानप्रदान गर्ने अनलाइन च्यानलको सामूहिक रूप हो । यस्ता च्यानल प्रायः निःशुल्क हुन्छन् । फेसबुक, युट्युब, भाइबर, ट्विटर आदि यसका उदाहरण हुन् । यसका फाइदाहरू बहुआयामिक छन्, जुन निम्न छन् :
– छिटोछरितो सूचना आदानप्रदान गर्न सकिने,
– स्वदेश, विदेश सबैतर्फ घरमै बसेर प्रत्यक्ष सम्पर्क स्थापित गर्न सकिने,
– महìवपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने,
– कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने,
– घरमै बसेर आपूmलाई मन पर्ने मालसामान खरिदबिक्री गर्न सकिने,
– आफ्नो विचार तथा भावना राख्न, विस्तार गर्न सहज हुने,
– सारा विश्वलाई एउटा गाउँमा ल्याउन सहयोग पुग्ने,
– अध्ययन, अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने,
– व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने ।
२. कार्यस्थलमा के कस्ता कार्य गरेमा यौनजन्य दुव्र्यवहार गरेको मानिने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरुपयोग गरी, कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा देहायका कुनै कार्य गरे वा गराएमा यौनजन्य दुव्र्यवहार गरेको मानिने व्यवस्था कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१ ले गरेको छ ः
– यौनजन्य आसयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा,
– अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्यदृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा,
– लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा,
– यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा,
– यौनजन्य आसयले जिस्काएमा वा हैरानी दिएमा,
– तर शैक्षिक, सूचनामूलक, अनुसन्धानमूलक, उपचार वा बचाउको सिलसिलामा गरिएको कुनै पनि कामकारबाहीलाई यौनजन्य दुव्र्यवहार गरेको नमानिने व्यवस्था छ ।
३. गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य र अधिकार के के हुन् ? लेख्नुहोस् ।
गाउँपालिका तथा नगरपालिकाको कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादनसम्बन्धी व्यवस्था सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको नियमावलीबमोजिम हुने र यस्तो कार्य विभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, वडाध्यक्ष र सदस्यको काम, कर्तव्य र अधिकार उल्लेख भएको हुनुपर्ने व्यवस्था छ । उपरोक्त बमोजिमको नियमावलीबाट पदाधिकारीको कार्यविभाजन, काम, कर्तव्य र अधिकार नतोकिएसम्मका लागि गाउँपालिकाको अध्यक्ष तथा नगरपालिकाको प्रमुखको काम, कर्तव्य अधिकार देहायबमोजिम हुने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ मा उल्लेख छ ः
– सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
– सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेस गर्ने, गराउने,
– वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेस गराउने,
– सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने,
– सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
– कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र
नियन्त्रण गर्ने,
– उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,
– स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने, (वडा समितिबाट सम्पादन हुने सिफारिस तथा प्रमाणित हुने विषयबाहेक)
– गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने,
– आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने,
– गाउँपालिका तथा नगरपालिकाका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने,
– सार्वजनिक सेवा प्रवाहसम्बन्धी गुनासो व्यवस्थापन गर्ने, गराउने,
– सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने,
– सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने ।
४. नेपालको निजामती सेवामा पदपूर्तिसम्बन्धमा देखिएका समस्या के के हुन् ? उल्लेख गर्नुहोस् ।
निजामती सेवामा रिक्त भएका पदहरू नयाँ कर्मचारी भर्ना गरेर तथा पुराना कर्मचारीको बढुवा गरेर कर्मचारी आपूर्ति गर्ने कार्य पदपूर्ति हो । नेपालमा पदपूर्ति कार्यमा लोकसेवा आयोगको संलग्नता छ । जसमा आयोगले रिक्त पदको माग सङ्कलन गरी विज्ञापन गर्ने, पदपूर्तिको प्रतिशत निर्धारण गर्नेदेखि दरखास्त सङ्कलन, दरखास्त रुजु र स्वीकृति, शैक्षिक योग्यता एवं पाठ्यक्रम निर्माण, परिमार्जन तथा संशोधन, प्रश्नपत्र निर्माण, लिखित परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, लिखित परीक्षा नतिजा, अन्तर्वार्ता हुँदै योग्यताक्रम सिफारिसका सबै कार्य आयोगले गर्ने हुँदा पदपूर्ति गर्ने कार्य निष्पक्ष भएको छ । नेपालको निजामती सेवामा पदपूर्ति कार्यलाई व्यवस्थित गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि निजामती सेवाको पदपूर्ति कार्य समस्यामुक्त हुन सकेको छैन । यसमा देखिएका समस्यालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ः
– निजामती सेवामा कुल दरबन्दी सङ्ख्या, कार्यरत कर्मचारी सङ्ख्या र रिक्त पद सङ्ख्या अपडेट हुन नसक्नु,
– रिक्त पदको सूचना आयोगमा समयमै नगर्नु,
– कतिपय अवस्थामा रिक्त पद लुकाउने प्रयास गर्नु,
– रिक्त पद पूर्ति गर्ने प्रक्रिया छिटोछरितो हुन नसक्नु,
– पदपूर्तिको विज्ञापनका लागि एक वर्ष कुर्नुपर्ने अवस्था हुनु,
– पदपूर्ति गर्ने कार्यमा सरकारी कार्यालयबीच कार्यगत समन्वय हुन नसक्नु,
– कर्मचारीको व्यक्तिगत अभिलेख व्यवस्थित हुन नसक्दा वास्तविक रिक्त पद पहिचानमा समस्या हुनु,
– खुला परीक्षा प्रणाली बढी सैद्धान्तिक हुनु,
– आयोगले लिने परीक्षाको पाठ्यक्रम र सेवा प्रवेशपछि गर्नुपर्ने कार्यबीच तालमेल हुन नसक्नु,
– स्वदेश विदेशमा पढेका, घुमेका, बुझेका, उच्च अङ्क ल्याएका नवप्रतिभालाई पदपूर्ति व्यवस्थाले आकर्षण गर्न नसक्नु,
– बढुवा प्रणाली पारदर्शी र अनुमानयोग्य हुन नसक्नु,
– आरक्षणबाट गरिने पदपूर्तिले लक्षित वर्गलाई फाइदा पु-याउन नसक्नु, कतिपयले दोहोरो तेहेरो सुविधा पाउनु, कतिपयले पाउँदै नपाउनु ।
५. सामाजिक विविधतामा एकता भनेको के हो ? नेपाली समाजमा विविधतामा एकता कायम गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपाय के के हुन् ?
चर्चा गर्नुहोस् ।
समाजमा जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक पक्षमा देखापर्ने फरकपन सामाजिक विविधता हो । समाजको यही विविधताको साथसाथै एउटै समाजमा एकापसमा मेलमिलाप गरेर बस्ने, एकले अर्कोलाई सम्मान गर्ने, सामाजिक विकासमा सामूहिक सहभागिता जनाउने, समाजका विकृति हटाउन एकताबद्ध हुनेजस्ता कार्य सामाजिक विविधतामा एकता हो । नेपाल भौगोलिक रूपमा सानो भए पनि नेपालको सांस्कृतिक विविधता र एकतामा निकै ठूलो मानिन्छ । यहाँ बाहुन, क्षेत्री, गुरुङ, मगर, राई, लिम्बूलगायतका झन्डै १२५ को सङ्ख्यामा विभिन्न जातजातिको बसोबास रहेको छ । ती जातजातिका आफ्नै भाषाभाषिकाहरू रहेका छन् र विविध प्रकारका धर्म मान्दै आइरहेका छन् । आफ्ना जात, भाषा र धर्मअनुसार नेपालीका विविध प्रकारका सांस्कृतिक मूल्यमान्यता र गतिविधि कायम छन् । एक जातले अर्को जातको धर्म र संस्कारको सम्मान गरेको अवस्था छ । हिन्दु धर्म, बौद्ध धर्मलगायतका सबै धर्मालम्बी एक आपसमा मिलेर बसेको अवस्था छ । नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त देश भइकन पनि विविधतामा एकतामा बाँधिएको
मुलुक हो ।
विविधतामा एकता कायम गरी राष्ट्रिय एकतालाई सुदृढ गर्ने उपायहरू
– सबै जातजाति, धार्मिक सम्प्रदाय, भाषाभाषीलाई राज्य प्रणालीमा समानुपातिक सहभागिता सुनिश्चित गर्ने,
– धार्मिक सहिष्णुता र जातीय सद्भावको महìवका विषयमा सर्वसाधारणमा जनचेतना जगाउन प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने,
– लोपोन्मुख जातजाति, भाषा, संस्कृतिको उत्थानका लागि विशेष नीति अख्तियार गर्ने,
– विविध जातजाति, धर्मावलम्बी, भाषाभाषीलाई समेट्ने गरी स्थानीयस्तरमा सामुदायिक विकासका कार्यक्रम सञ्चालन गर्ने,
– जातजाति, धर्मसंस्कृति, भाषाका आधारमा हुने भेदभाव र शोषणको पूर्ण अन्त्य गर्ने,
– खुला सिमाना व्यवस्थित गर्ने,
– राष्ट्रिय सुरक्षा नीति तय गर्ने,
– राष्ट्रिय एकता जागरण अभियान सञ्चालन गर्ने ।
६. असल अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुणहरू उल्लेख गर्नुहोस् ।
कार्यालयलाई भविष्यमा आवश्यक पर्ने कागजात तयार गर्ने, वर्गीकरण गर्ने, प्राथमिकीकरण गर्ने, प्रयोग गर्ने, भण्डारण गर्ने, संरक्षण गर्ने एवं अनावश्यक कागजात धुल्याउनेसम्मका सम्पूर्ण कार्य अभिलेख व्यवस्थापन हो । यस्तो अभिलेख व्यवस्थापन सूचनामूलक, सङ्क्षिप्त, सान्दर्भिक, अद्यावधिक, विश्वसनीय, प्रमाणिक एवं भरपर्दो हुनुपर्दछ । असल अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुणहरू निम्न छन् ः
– बृहत् सूचना दिने तर सङ्क्षिप्त,
– कम खर्चिलो मितव्ययी,
– सजिलै बुझिने सरल,
– समसामयिक अद्यावधिक गरिएको,
– भविष्यमा प्रमाणका रूपमा प्रस्तुत गर्न सकिने,
– सहजै प्राप्त गर्न सकिने,
– वर्गीकरण गरिएको,
– सबै पक्षलाई समेटेको ।
७. नेपालको संविधानमा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धमा के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालनसम्बन्धी व्यवस्था छ, जसलाई देहायबमोजिम उल्लेख
गर्न सकिन्छ :
– समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले नेपालको संविधानको धारा १७ स्वतन्त्रताको हकको राजनीतिक दल खोल्ने स्वतन्त्रताअन्तर्गत बनेको नियमको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचारप्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्ने,
– यसरी गठन भएका राजनीतिक दलले कानुनबमोजिमको कार्यविधि पूरा गरी निर्वाचन आयोगमा दल दर्ता गराउनुपर्ने,
– राजनीतिक दलले दल दर्ता गराउने प्रयोजनका लागि निवेदन पेस गर्दा सम्बन्धित राजनीतिक दलको विधान र घोषणापत्रका अतिरिक्त सङ्घीय कानुनबमोजिमका अन्य कागजात निर्वाचन आयोगमा पेस गर्नुपर्ने ।
राजनीतिक दलले दल दर्ताका लागि पूरा गर्नुपर्ने सर्त
– राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिँदा देहायका सर्त पूरा गर्नुपर्ने व्यवस्था छ :
– (क) राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने,
– (ख) राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने,
– तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा नपर्ने,
– (ग) दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने,
– कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झन्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता नहुने व्यवस्था छ ।
८. नेपालमा पाइने हावापानीका प्रकार लेख्नुहोस् ।
नेपालमा पाँच प्रकारका हावापानी पाइन्छन्, जुन निम्न छन्:
१) उपोष्ण मनसुनी हावापानी:
– समुद्र सतहदेखि करिब १२०० मिटरसम्मको उचाइमा पर्ने तराई, भावर, दून, भित्री मधेस, टार आदि भागमा यो हावापानी पाइन्छ ।
२) न्यानो समशितोष्ण मौसमी हावापानी:
– समुद्र सतहदेखि १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाइमा रहने यो हावापानी चुरे पर्वतको माथिल्लो भाग महाभारत क्षेत्रमा पाइन्छ ।
३) ठण्डा समशितोष्ण हावापानी:
– यस प्रकारको हावापानी महाभारतको उच्च भाग र हिमालको तल्लो भागमा २१०० मिटरदेखि ३३०० मिटरसम्मको उचाइमा पाइन्छ ।
४) लेकाली हावापानी:
– हिमरेखामुनिको भाग र भित्री हिमालयमा ३३०० मिटरभन्दा माथि र ५००० मिटरभन्दा तल यो हावापानी पाइन्छ ।
५) हिमाली हावापानी:
– वर्षभरि नै हिउँले ढाकेको यो हावापानी ५००० मिटरभन्दा माथि पाइन्छ ।
प्रस्तुतकर्ता : हेमचन्द्र शर्मा