मुख्य समाचार |

गौरा पर्वको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त

लक्की चौधरी
काठमाडौं, भदौ १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको प्रमुख पर्व गौरा पर्वको अवसरमा देश विदेशमा रहनुहुने सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । पर्वको अवसरमा बुधबार विज्ञप्ती जारी गर्नुहुँदै प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभएको हो ।
“गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व हो । प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दैआएको छ” विज्ञप्तीमा भन्नुभएको छ ।
साँस्कृतिक विविधतायुक्त देशमा यस्ता पर्वले परस्पर एकाताका प्रतीक रहँदैआएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थानअनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व हो ।”
नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त समाज रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले विज्ञप्तीमा थप्नुभएको छ, “विविधताबीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ । यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धितर्फ अग्रसर हुन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु ।”
विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । “विशेषज्ञ र चिकित्सहरुको सल्लाह र एवम् सरकारको निर्देशनअनुसार सामाजिक ब्यवहार गरेर सर्वाेपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह गर्न चाहन्छु” प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ ।