मुख्य समाचार |

परिवारमा खुसी ल्याउने मुस्कानको सपना

नारद गौतम

काठमाडौँ, भदौ १८ गते । वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको थियो ।

एक वर्षको अवधि निकै पीडामा बिते पनि खातुन अहिले साहस बोकेर केही गर्ने अठोटका साथ अगाडि बढ्नुभएको छ । मूच्र्छित अवस्थाबाट बचेर उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना पीडा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष भन्न सक्ने हुनुभएको छ । तर खातुनको घाउ केही निको भए पनि अनुहारका दाग र मनभित्र गडेको पीडा भने ताजै छ । आफ्ना बुवा रसुल अन्सारी र उज्ज्वलविक्रम थापासहित मङ्गलबार अबेर प्रधानमन्त्री निवास पुग्नुभएकी खातुनले प्रधानमन्त्रीसँग आफ्ना भनाइ निर्धक्क साथ राख्नुभयो ।

प्रधानमन्त्रीसँगको भेटमा उहाँले एसिड प्रहार गर्नेलाई कडा सजाय हुनुपर्ने र कानुन कमजोर भएकाले एकदम कडा बनाउन माग गर्नुभयो । खातुनले भन्नुभयो, ‘‘प्रधानमन्त्रीज्यू, यो एसिड प्रहारको पीडा चाहिँ हामीले जीवनभर सहनुपर्ने तर अपराधी ठहरिएका चाहिँ खुलेआम हिँडिरहेका छन्, हाम्रो जस्तो पीडा अन्य दिदी–बहिनीले अब भोग्नु नपरोस्, अभिभावकले पनि सहनु नपरोस् ।’’

एसिड पीडितको सबै उपचार खर्च सरकारले दिनुपर्ने र अपराधी ठहर भएकालाई आजीवन काराबासको सजाय हुनुपर्छ भन्दै खातुनले एसिड पीडितले निःशुल्क पढ्न र श्रम गर्न चाहेमा रोजगारीको अवसर उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले के भन्नुभयो भन्ने जिज्ञासामा खातुन भन्नुहुन्छ, ‘‘प्रधानमन्त्रीले मेरो अनुहार र दाग नियालेर हेर्नुभयो, मेरो एउटा कान नभएको देख्नुभयो, त्यो देखेपछि हाम्रो पीडाको अनुभूति पनि गर्नुभयो । प्रधानमन्त्री चिन्तित भएको मैलै पाएँ र कडा कानुन बनाउने वचन दिनुभयो, कडा कानुन बन्ने विश्वास मैले लिएकी छु ।’’
एसिड पीडितले आफ्नो पीडा जीवनभर सहनुपर्ने तर दोषी चाहिँ पाँचदेखि आठ वर्षमै जेलमुक्त हुने गरेका छन्, यो ठीक भएन भन्ने गुनासो पनि उहाँले त्यस क्रममा गर्नुभयो ।

उहाँलाई एसिड छ्याप्ने वीरगञ्ज–२, छप्कैयाका १७ वर्षीय सम्साद आलम र एसिड प्रहारका योजनाकार १७ वर्षीय माजिद आलमलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । कोरोना सङ्क्रमणका कारण सम्साद आलम अहिले कारागारबाट बाहिर आइसकेका छन् भने माजिद मात्रै काराबासमा छन् ।

आल्मुनियमको झ्यालढोका बनाउने व्यवसाय गर्दै आउनुभएका उहाँका बुवा रसुल अन्सारी सामान्य परिवारका श्रमजीवी हुनुहुन्छ । खातुनले आफ्नो उपचारका लागि हालसम्म ३० लाख रुपियाँ खर्च भएको सुनाउनुभयो । उहाँको उपचारमा वीरगञ्ज महानगरपालिका, प्रदेश सरकार, सांसद तथा अन्य सङ्घ, संस्था र शुभेच्छुकले आर्थिक सहयोग गरेका छन् । उहाँ कीर्तिपुर अस्पतालमा अझै पनि उपचारमै हुनुहुन्छ । सुरुमा तीन महिना गरी हालसम्म छ महिना अस्पताल बसिसक्नुभएका उहाँको हरेक तीन–तीन महिनामा शल्यक्रिया गर्नुपर्छ ।

आफ्नो उपचारको प्रक्रियाबारे जानकारी दिँदै खातुन भन्नुहुन्छ, ‘‘मेरो गर्दन, छाती र कानको शल्यक्रिया गर्न बाँकी छ । एकपटक शल्यक्रिया गरेपछि तीन महिनापछि मात्रै शल्यक्रिया गर्नुपर्छ, धेरै पटक बेहोस बनाउँदा हाम्रो ज्यान पनि जोखिममा छ । अझै १२–१३ वर्षसम्म उपचार गर्नुपर्छ, हाम्रो पीडा कसले बुझ्ने ?’’ कोरोना सङ्क्रमण बढ्दै गएपछि उहाँको शल्यक्रिया पनि पर सरेको छ । नेपालमा एसिड पीडितको सङ्ख्या २०-२२ जना रहेको भनाइ खातुनको छ । आफ्ना लागि मात्रै नभई सबै एसिड पीडितको समस्या अवगत गराउन प्रधानमन्त्रीसँग भेट गरेको उहाँले बताउनुभयो ।

वीरगञ्जको रेशमकोठीस्थित त्रिभुवन हनुमान माविको कक्षा ९ मा उहाँ अध्ययनरत हुनुहुन्छ । अहिले घरमै बसेर अध्ययनरत उहाँको कक्षा १२ सम्म पढेर जागिरे भई परिवारमा खुसी ल्याउने सपना छ । पुरानो सपना कायमै रहेको त्यसका लागि १५ वर्षीय खातुनले मिहिनेत गरिरहनुभएको छ । नामझैं आफ्नो जीवनमा मुस्कान ल्याउन अझै केही वर्ष अस्पताल धाउनुपर्ने समस्या भने छँदैछ ।