मुख्य समाचार |

निर्वाचन आयोग : पदाधिकारीका लागि आचारसंहिता

नारद गौतम

काठमाडौँ, भदौ २७ गते । निर्वाचन आयोगका पदाधिकारीले अब निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा प्रभावकारिता अभिवृद्धि गराउन आफूलाई आदर्शका रूपमा प्रस्तुत गर्नुपर्ने भएको छ ।
पदाधिकारीले दल वा निर्वाचन विवादका पक्षहरू वा अन्य सरोकारवालासँग शालीन, सौम्य, नम्र र धैर्य भई व्यवहार गर्नु पर्नेछ । यस्तै आयोगका आफ्ना कर्मचारीबाट समेत निर्वाचन सरोकारवालासँग शालीन, सौम्य, नम्र व्यवहार गर्न लगाउनु पर्नेछ ।
आयोगका पदाधिकारीका लागि जारी आचारसंहिता, २०७७ मा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाब, भनसुन, धम्की, आग्रह, पूर्वाग्रह आदिबाट प्रेरित नभई कार्य गर्नुपर्ने उल्लेख छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई अझ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी, मितव्ययी तथा प्रभावकारी बनाउने उद्देश्यले पदाधिकारीका लागि यो आचारसंहिता बनाई लागू गरेको जानकारी दिनुभयो ।
आयोगको तेस्रो रणनीतिक योजनामा उल्लेख भएअनुसार यो आचारसंहिता लागू भएको र आयोगमा पहिलोपटक पदाधिकारीका लागि आचारसंहिता लागू गरिएको हो । पदाधिकारीको आचारसंहितामा मुख्य गरी निर्वाचनको स्वतन्त्रता, निष्पक्षता, पदाधिकारीको निष्ठा, सदाचार, समानता, सक्षमता एवं लगनशीलता गरी छवटा विषय महŒवका साथ व्यवस्था गरिएको छ ।
पदाधिकारीले निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्दा कानुनको सही प्रयोग गरी प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाब, भनसुन, धम्की, आग्रह आदिबाट प्रेरित वा प्रभावित नभई स्वतन्त्रतापूर्वक कार्य गर्नु पर्नेछ । साथै कुनै प्रकारको हस्तक्षेप गर्न, अनुचित
प्रभाव पार्न वा दबाब दिन नहुने पनि आचारसंहितामा उल्लेख छ ।
पदाधिकारीले आयोगको संस्थागत एवं कार्यगत स्वतन्त्रता कायम राख्न र आयोगको स्वायत्तता अभिवृद्धि गर्न प्रयास गर्नु पर्नेछ । यस्तै पदाधिकारीले उदाहरणीय तथा अनुकरणीय आचरण प्रदर्शन गरी आयोग प्रतिको जनआस्था तथा विश्वसनीयता
बढाउनु पर्नेछ ।
आचारसंहितामा भनिएको छ, “पदाधिकारी निन्दा, आलोचना, आक्रोश आदिबाट दुःखित हुने तथा बधाई, प्रशंसा, नम्रताबाट प्रभावित हुने मानवीय स्वभावको नकारात्मक असरबाट किञ्चित रूपमा विचलित नभई निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा नकारात्मक असर नपरोस् भनी सधैँ सजग रहनु पर्नेछ । ”
पदाधिकारीले दल र निर्वाचनका सरोकारवालासँग गर्ने व्यवहार निष्पक्ष हुनुपर्ने, आयोग प्रतिको उनीहरूको विश्वसनीयता अभिवृद्धि गर्न सदैव क्रियाशील रहनुपर्ने तथा निर्वाचन विवादको निरूपण गर्दा कुनै आग्रह, पूर्वाग्रह नराखी विवाद निरुपण गर्नु पर्नेछ ।
आयोगले पर्यवेक्षकका लागि आचारसंहिता लागू गर्दै आएको थियो तर अब पर्यवेक्षकले आयोग पदाधिकारीको पनि पर्यवेक्षण गर्न पाउने भएका छन् । पदाधिकारी आचारसंहितामा भनिएको छ, “पदाधिकारीले निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारलाई समान अवसर र व्यवहार गरेको छ भन्ने कुरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई समेत विश्वास दिलाउने गरी कार्य गर्नु पर्नेछ । ”
राजनीतिक दलबाटै सिफारिस भएर नियुक्त हुने आयुक्तहरू दल विशेषप्रति नम्र हुन नपाऊन् भन्ने उद्देश्यले आचारसंहितामा ‘पदाधिकारी व्यवस्थापिका वा कार्यपालिकाका सदस्यहरू सँगको अनुपयुक्त सम्पर्क वा दलगत राजनीतिक प्रभावबाट मुक्त रहनुपर्ने’ अङ्कुश लगाइएको छ ।
एउटा विवेकशील पर्यवेक्षकको दृष्टिमा पदाधिकारीको आचरण निन्दनीय छैन भन्ने कुरा पदाधिकारी आफैँले व्यवहारतः सुनिश्चित गर्नु पर्नेछ । पदाधिकारीका हरेक क्रियाकलाप सदाचारपूर्ण हुनु पर्नेछ । सदाचारविपरीत देखिने कुनै पनि कार्य गर्नबाट पदाधिकारी अलग रहनु पर्नेछ । यस्तै पदाधिकारीले आफूले प्रयोग गरी आएको आवासमा कुनै दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधिसँग आफूले सम्पादन गर्ने वा आफू संलग्न हुने कार्यसँग सम्बन्धित विषयमा बाहेक अन्य विषयमा छलफल वा भेटघाट गर्न पाइने छैन ।
पदाधिकारी वा निजको परिवारका कुनै सदस्यले कुनै प्रकारको आतिथ्य स्वीकार गर्न वा दान, दातव्य, उपहार, इच्छापत्र, ऋण वा आर्थिक वा नैतिक लाभ माग गर्नु वा स्वीकार गर्नु गराउनु हँुदैन ।