ललितपुरमा कोरोना सङ्क्रमण नियन्त्रणभित्रै
नगेन्द्र सापकोटा
ललितपुर, असोज ८ गते । ललितपुर महानगरपालिकाभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणभित्रै रहेको छ ।
कोरोना रोकथाम र नियन्त्रणमा व्यवस्थित समूह परिचालन, सङ्क्रमितको नियमित ‘फलोअप’ तथा ‘कन्ट्याक्ट ट्रेसिङ’ एवं प्रारम्भदेखि नै व्यवस्थित क्वारेन्टाइन निर्माण गरेकाले कोरोना रोकथाम भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले उपत्यकामा कोरोना भाइरस सङ्क्रमण देखिने क्रमसँगै गत वैशाख २२ गते नै प्रभावकारी क्वारेन्टाइनको व्यवस्था गरेकाले ललितपुरमा कोभिड सङ्क्रमण व्यापक रूपमा फैलन नसकेको बताउनुभयो ।
प्रमुख महर्जनका अनुसार महानगरपालिकाले सातदोबाटोस्थित एन्फाको तालिम केन्द्र र सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । त्यस्तै महिला र पुरुषका लागि अलग्गै क्वारेन्टाइन, वडा ४ को ज्यापूू समाजको वृद्धाश्रममा आइसोलेसन व्यवस्था गरिएको छ ।
‘केस फलोअप’ समूह
महानगरले कोरोना सङ्क्रमितको नियमित ‘केस फलोअप’ समूह परिचालन गर्दै आएको छ । कोरोना रोकथाम र नियन्त्रण एक्लाएक्लै गरेर सम्भव नहुने भएकाले महानगरले समूह परिचालन गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालाले जानकारी दिनुभयो । महानगरले कोभिडका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । उपचारकै लागि महानगरले पाटन अस्पतालसहित अन्य १४ वटा अस्पतालसँग समन्वय गरेको छ ।