भ्रष्टाचारमा महिला संलग्नता न्यून
नारद गौतम
काठमाडौँ, असोज २५ गते । समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलाम(ाथि लगाइन्छ । के यो आरोप सत्य हो त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ महिनाको अवधिमा भ्रष्टाचारजन्य कार्यमा संलग्न महिला तथा पुरुषको लैङ्गिक तथ्याङ्क सार्वजनिक गरेको छ । नेपालको सामाजिक बनोट पित्तृसत्तात्मक भएजस्तै भ्रष्टाचारजन्य कार्यमा पुरुषकै रजाइँ (रजगज) रहेको तथ्याङ्कले देखाउँछ । अख्तियारका अनुसार सो अवधिको भ्रष्टाचारजन्य कार्यमा ८९ प्रतिशतभन्दा बढी पुरुष संलग्न भएको पाइएको छ भने त्यस्ता कार्यमा महिलाको सहभागिता १०.७७ प्रतिशत मात्रै छ ।
आयोगले २०७४ फागुन २ देखि २०७७ भदौ २८ गतेसम्मको तथ्याङ्कमा कुल दुई हजार ३६७ जनालाई प्रतिवादी बनाएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार कुल ९२३ वटा मुद्दामा पुरुष दुई हजार ११२ र महिला २५५ जनालाई प्रतिवादी बनाइएको छ ।
भ्रष्टाचारजन्य कार्यमा महिलाको सङ्ख्या न्यून हुनुको कारण के हो त ? निजामतीलगायतका सेवामा महिलाको सङ्ख्या नै न्यून भएर, अवसर नै नपाएर, इमानदार भएर, डराएर, नजानेर वा मिलाएर खान सक्ने खुबी भएर हो ?
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आफ्नो जग्गाको कामको सिलसिलामा मातपोत कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीले सीधै अतिरिक्त लाभको अपेक्षा गरेको घटना सुनाउनुभयो । कार्कीको अनुभव छ, संसारभरि नै महिलाले कम भ्रष्टाचारजन्य कार्य गरेको पाइन्छ, थोरै रकम भए पनि मिलाएर खर्च गर्ने बानी हुन्छ, पुरुषजस्तो खर्चालु महिला हुँदैनन्, जुवा–तास खेल्ने, घुम्ने र फजुल खर्च गर्ने गर्दैनन् ।
महिला पटक्कै भ्रष्ट हुँदैनन् भन्ने होइन, श्रीमान् सँगसँगै श्रीमती, छोरा, छोरी पनि तानिएर आएका मुद्दा आएका पनि छन् । हुन त पुरुष किन भ्रष्ट भयो भन्दा महिलाले गर्दा हो भन्ने आरोप पनि लाग्छ । भव्य महलमा बस्नु प¥यो, छोरा–छोरी विदेशमा पढाउनु प¥यो, महँगा गहना र कपडा लगाएर अर्काको नक्कल गर्ने प्रवृत्ति महिलामा नै बढी हुन्छन् भन्दै पूर्वप्रधानन्यायाधीश कार्की भ्रष्टाचारमा महिला कम हुनुको कारण रोजगारका क्षेत्रमा महिला सङ्ख्या नै कम हुनु मुख्य कारण रहेको सुनाउनुहुन्छ ।
कार्की भन्नुहुन्छ, भ्रष्टाचार धेरै ठाउँमा छ, पुरुष मात्र होइन महिला पनि भ्रष्टाचारमा संलग्न छन्, लोग्नेले भ्रष्टाचार गर्न थाल्यो भने श्रीमतीले रोक्न सक्नुपर्छ । हामीलाई त्यस्तो सम्पत्ति चाहिँदैन भनेर छोरी, बुहारी, छोरा र परिवारका अन्य सदस्यले पनि भन्न सक्नुपर्छ । अवैध धनले हाम्रो औकात बढाउनु छैन भन्न सक्नुपर्छ ।
लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले निजामती सेवामा महिलाको सहभागिता २२–२३ प्रतिशत पुगेको भन्दै थप्नुुहुन्छ, विभ(ागीय कारबाहीमा पनि तुलनात्मक रूपमा महिलाको सङ्ख्या कम छ । अरू अध्ययनले पनि रकम–कलम, सङ्घ–संस्थाको कोष सञ्चालन महिलाले गरेका छन् भने त्यहाँ
दुरुपयोग कम हुने गरेको छ । पुरुषले सञ्चालन गर्दा बढी दुरुपयोग भएको पाइन्छ ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका पूर्वप्रमुख डा. टीकाराम गौतमको विश्लेषणमा महिलाले जति कमाउँछन्, अरूलाई त्यति दिनुपर्दैन, उनीहरू जोखिम कम लिन चाहन्छन्, सामान्यतया अतिरिक्त आर्जनको खोजीमा महिलाले लाग्नु पर्दैन ।
लैङ्गिक बनोटले नै अग्रपङ्क्तिको सेवामा महिलाको सहभागिता न्यून छ । पित्तृसत्तात्मक समाजमा परिवारको आवश्यकता पूरा गर्ने जिम्मेवारी बढी पुरुषको काँधमा हुन्छ । पैसाको माग गर्नेमा महिला नै बढी हुन्छन्, छिमेकीदेखि बाहिर देखाउने कार्यमा महिला बढी अग्रसर हुन्छन्, त्यसैले पुरुष वैध अवैध कमाउनेमा लाग्ने गरेको देखिन्छ, भनाइ डा. गौतमको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी त बद्मासी गर्ने कार्यमा महिलाभन्दा बढी पुरुष नै रहेको ठोकुवा गर्नुहुन्छ । महिला दयालु हुन्छन्, अरूलाई चोट पु¥याउने कार्य गर्नुहुँदैन भन्ने प्रकृतिप्रदत्त स्वभावका हुन्छन्, पुरुषजस्तो कठोर र क्रूर हुने गुण महिलामा हुँदैन, रेग्मीको ठम्याइँ छ । नेपालमा राजनीतिक क्षेत्रमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत भए पनि निजामती सेवामा महिलाको उपस्थिति त्योभन्दा निकै कम छ ।