मुख्य समाचार |

स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न सभामुखको आह्वान 

काठमाडौँ, मङ्सिर १३ गते। सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रको सुदृढीकरण र सङ्घीयतालाई स्थायित्व प्रदान गर्न प्रदेशसभाले स्थानीय तहलाई अभिभावकत्व प्रदान गर्न आह्वान गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आयोजित ‘सङ्घीय संसद् र प्रदेशसभा सञ्चालन अनुभव आदानप्रदान एवं अन्तरक्रिया समापन समारोहमा उहाँले कानून निर्माणलगायतका विषयमा अधिकतम सहयोग गरी दिशा निर्देशन गर्न उहाँले आग्रह गर्नुभएको हो ।    
    
संसद्लाई जीवन्त तुल्याउँदै जनमुखी र व्यावहारिक कानून निर्माण गर्न सुझाव दिँदै सभामुख सापकोटाले भन्नुभयो, “सभामुख र उपसभामुख पद विवादमा नआउने समन्वयकारी भएकाले तटस्थ र निष्पक्ष हुनुपर्छ, प्रदेशको पहिचान स्थापित गर्ने अहिले ठूलो अवसर र चुनौती छ, राम्रो काम गरेर इतिहास रच्ने अवसरको सदुपयोग होस् ।”    
    
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बजेट बनाउँदा वार्षिकरुपमा मन्त्रालयगत सीमा तोक्ने पुरानो परिपाटी व्यावहारिक नदेखिएकाले त्यसमा पुनःविचार गरी आवश्यकता र औचित्यका आधारमा बजेट निर्धारण गर्न सुझाव दिनुभएको छ ।    
    
उहाँले भन्नुभयो, “संसद्ले रुलिङ गरेको विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ, संसदीय मूल्यमान्यता र जवाफदेहिताको सम्मान गर्न आवश्यक छ, सांसदले विकास होइन, विधि निर्माणको काममा विशेष प्राथमिकता दिनुपर्छ, प्रदेशले आफ्नो भूमिका आफै निर्धारण गर्नुपर्छ ।”