मुख्य समाचार |

‘निर्वाचनमा बजेट अभाव हुन्न’

सविता शर्मा

काठमाडाँै, माघ २१ गते । आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक बजेटका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल भएको छ । मङ्गलबार मन्त्री पौडेल र निर्वाचन आयोगका पदाधिकारीबीच निर्वाचनको आर्थिक व्यवस्थापनका सम्बन्धमा छलफल भएको हो ।
छलफलमा अर्थमन्त्री पौडेलले निर्वाचनका लागि आवश्यक बजेट सरकारले उपलब्ध गराउने बताउनुभयो । उहाँले बजेटको कुनै अभाव नहुने भन्दै निर्वाचन खर्चलाई मितव्ययी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सबै प्रकारका खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा ध्यान दिन आयोगलाई सचेत गराउनुभयो ।

उहाँले वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोरोना महामारीलाई ख्याल गर्दै निर्वाचन व्यवस्थापनका सबै कार्य व्यवस्थित र योजनाबद्ध रहनुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।
निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएको उल्लेख गर्दै उहाँले निर्वाचनको तयारी सकारात्मक रहेको बताउनुभयो । आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने विश्वास पनि मन्त्री पौडेलले व्यक्त गर्नुभयो ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगबाट भइरहेका व्यवस्थापकीय कामका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विगतका निर्वाचनका तुलनामा मितव्ययी रूपमा खर्च गर्न र लागत प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको पनि स्पष्ट गर्नुभयो ।
आगामी निर्वाचनमा कोरोना भाइरसको सङ्क्रमणलाई समेत ख्याल गर्दै निर्वाचनसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएकाले विगतको तुलनामा बजेट व्यवस्थापनमा नयाँ र थप दबाब सिर्जना भएको थपलियाले अवगत गराउनुभयो ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले निर्वाचन आयोग ऐन, २०७३ को व्यवस्थाअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन आर्थिक सञ्चालन कार्यविधि, २०७७ यसै हप्ता आयोगबाट स्वीकृत हुने जानकारी गराउनुभयो । उहाँले कार्यविधि स्वीकृत भएपछि १६५ निर्वाचन क्षेत्र र ७७ वटा जिल्ला निर्वाचन कार्यालयलाई निर्वाचन सञ्चालन एवं व्यवस्थापनसम्बन्धी बजेट विनियोजन गरी खर्चको लेखाङ्कन हुने बताउनुभयो ।