मुख्य समाचार |

देशव्यापी कार्यक्रमलाई निरन्तरता दिने, स्वरुप परिवर्तन गर्ने

मुकुन्द गैरे
काठमाडौं, फागुन १२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हिजो सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । पार्टीको आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको फैसलालाई स्वागत गर्दै कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

समग्र विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कमिटीको वैठक र संसदीय दलको वैठक बोलाउने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकले सर्वौच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलापछि पनि पार्टीले देशका विभिन्न भागमा निर्धारित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सो बैठकले कार्यक्रमलाई निरन्तरता दिए पनि स्वरुप परिवर्तन गरिने बैठकपछि पार्टी प्रवक्ता ज्ञवालीले जानकारी गराउनुभयो । पत्रकारहरुले पार्टी एकताको सम्भावनाबारे राखेको जिज्ञासाको जवाफमा मन्त्री ज्ञवालीले पार्टीको एकतालाइ ध्यानमा राखेर कतिपय विषयमा गम्भीर मतभिन्नता भए पनि कसैलाई कारवाही नगरेको र पार्टीलाई एकताबद्ध गरेर लाने प्रयास जारी रहेको बताउनुभयो ।

यो फैसलापछि आगामी दिनमा मुलुकको राजनीति कता जान्छ भन्ने विषय पर्खनुपर्ने अवस्था रहेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । नेपाली जनताले मुलुकमा स्थिर सरकार र बलियो राजनीतिक दल चाहेको बताउनुभयो । मुलुकले लिएकाे नीति अवरुद्व नहुने सुनिश्चितताका लागि प्रधानमन्त्रीले राजनीतिक दललगायत सबैसँग छलफल गर्ने उहाँले बताउनुभयो ।

मुलुकलाई अन्योलमा राख्न हुन्न भन्ने आफूहरुको मान्यता भएकोले प्रधानमन्त्रीले त्यसैअनुसार अगाडि बढने प्रवक्ता ज्ञवालीले पत्रकारलाई जानकारी दिनुभयो ।