आज कम्युनिष्ट पार्टी स्थापना दिवस, गौरवपूर्ण ढङ्गबाट ७२ वर्ष पार भएको दाबी – एमाले अध्यक्ष ओली
सपना थामी
काठमाडौं, वैशाख ९ गते । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा देशको कम्युनिष्ट आन्दोलन लोकतान्त्रिक आन्दोलनको अगुवा भएर उभिन सफल भएको बताउनुभएको छ । अध्यक्ष ओलीले पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मरण गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै राष्ट्रहितको पक्षमा घोषणापत्रहरुमा जारी गर्दै आएको बताउनुभयो ।
उहाँले कम्युनिष्ट पार्टीले विगतका ७२ वर्ष निकै गौैरवपूर्ण, सफलतापूर्ण ढङ्गबाट पार गरेको बताउनुभयो । विशेषगरी कम्युनिष्ट पार्टीले सामाजिक न्याय र समानताको पक्षमा देशलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको अध्यक्ष ओलीको धारणा छ । उहाँले कुन समय, कुन पार्टीले कति शासन ग¥यो भन्दा पनि पार्टी स्थापना पछि यसले देशको सामाजिक रुपान्तरणमा र जागरणमा कस्तो भूमिका खेल्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ उहाँले बताउनुभयो । उहाँले संस्थापक पुष्पलालसँगैका ४ संस्थापक नेताहरु नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठलाई पनि स्मरण गर्नुभएको छ ।