पाठकसँग पूर्वपश्चिम
श्रीओम श्रेष्ठ‘रोदन’
इतिहासलाई बिर्सेर वर्तमान बनाउन सकिँदैन । वर्तमानलाई बलियो बनाएपछि मात्र भविष्यलाई सुन्दर बनाउन सकिन्छ भन्ने मानिन्छ । यस अर्थमा गोरखापत्र दैनिक एक सय एक्काइस वर्ष पुगेको छ । शताब्दी पार गरेको व्यक्ति वा संस्थाको आफ्नै गरिमा र ऐतिहासिक महìव हुन्छ । यसको महìव सम्बन्धित संस्थाको मात्र नभएर सम्बन्धित क्षेत्र र राष्ट्रका लागि पनि विशेष अर्थको हुने गर्दछ ।
त्यसैले गोरखापत्र एउटा अखबारको मात्र एक सय एक्काइस वर्ष नभएर सिङ्गो नेपाली पत्रकारिताका लागि एउटा गर्विलो इतिहास हो । यो इतिहासलाई सम्मान नगरिकन आजको नेपाली पत्रकारितालाई बुझ्न र समुन्नत बनाउन सम्भव हँुदैन । यसैले गोरखापत्रको महìव र आवश्यकताको अनुभव आजका दिनमा पनि बढ्दै गइरहेको छ । त्यसैले गोरखापत्र इतिहासको पानामा मात्र नभएर आजको दैनिकी पाना पनि बनिरहेको छ । फलतः गोरखापत्रको विगत जसरी ऐतिहासिक बनेको छ त्यसरी नै वर्तमान पनि बलियो बनेको छ ।
गोरखापत्र शताब्दीअघिको एउटा अखबार मात्र होइन । त्यतिबेलाको नेपाललाई हेर्ने प्रामाणिक दस्तावेज पनि हो । देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक अवस्थिति, विकास र सुधारको अभिलेख पनि हो । भाषासाहित्यको क्रमबद्ध विकास र विस्तारको पाठ्यपुस्तकजस्तै पनि हो । दक्षिण एसियाकै छैटौँ पुरानो अखबार बनेको गोरखापत्र राष्ट्रको महìवपूर्ण सम्पदा बनिसकेको छ ।
त्यसै नेपाल सरकारले गोरखापत्र प्रकाशन भएको दिन (वैशाख २४ गते )लाई नै आधार मानेर राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुुरु गरेको होइन । त्यसै गोरखापत्रमा पहिलो पटक नागरिकको तस्बिर छापिएको दिन (वैशाख १३ गते)लाई नै राष्ट्रिय फोटो पत्रकारिता दिवसका रूपमा मनाउने गरेको होइन । त्यसै नेपालका ३८ राष्ट्रभाषामा प्रकाशित भएर बहुभाषिक अखबार भएको होइन ।
आजको प्रविधिले हरेक क्षेत्रमा ठूलो परिवर्तन गरेजस्तै नेपाली पत्रकारितामा पनि ठूलै फड्को मारिसकेको छ । अखबारका सङ्ख्या धेरै भइसकेका छन् । रेडियो र टेलिभिजन गाउँगाउँ पुुगिसकेका छन् । अनलाइनको उपस्थिति निकै बलियो बनिसकेको छ । सामाजिक सञ्जालहरू सूचनाका सजिला वाहक बनेका छन् । हाताहाती समाचार पाउने सहज सुविधा बढेको छ । त्यसैले प्रत्येक नागरिक समाचारप्रति सचेत पनि बनेका छन् ।
यो गोरखापत्रकै निरन्तरताको प्रतिफल भएकाले यसको श्रेय पनि गोरखापत्रमा नै जान्छ तर इतिहासको गौरवले मात्र अब गोरखापत्रको साख जोगिन सक्दैन । गोरखापत्रलाई सत्य, तथ्य र सही समाचार दिने अखबारको पर्यायका रूपमा निरन्तर चिनाइरहन, समयसापेक्ष पाठकको मन जित्ने अखबार बनिरहन पाठकको प्रतिक्रिया र सुझावले सधँै मार्गनिर्देश गरिरहन्छ र आफैँसँग प्रतिस्पर्धी बनाउन पनि सिकाउँछ ।
सङ्घीय राजधानीबाट मात्र प्रकाशित भइरहेको गोरखापत्रको विस्तार पूर्व र पश्चिम क्षेत्रबाट हुनथालेको सर्वविदितै छ । विराटनगरबाट गोरखापत्र प्रकाशन गर्ने धेरै लामो समयदेखिको सन्दर्भ वि.सं.२०७६ को असोज ३ गते संविधान दिवसको अवसरमा साकार भएको थियो । गोरखापत्रको पूर्वको प्रकाशनले प्रदेश १ र २ मा हुने बिक्री वितरणलाई निकै सहज र सुलभ बनाएको छ । सोही वर्षको फागुन ७ गते अर्थात् प्रजातन्त्र दिवसको अवसर पारेर बाँकेको कोहलपुरबाट अर्को संस्करणको पनि प्रकाशन प्रारम्भ भएको थियो । कोहलपुर प्रकाशनको संस्करणले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पाठकलाई आजको आजै अखबार सुलभ रूपमा पाउने व्यवस्था भएको छ ।
काठमाडौँको न्युरोडको धर्मपथमा मात्र सीमित भइरहेको गोरखापत्र संस्थान पूर्व र पश्चिममा पनि विस्तार भएको सन्दर्भमा स्थानीय बुद्धिजीवी पाठकको प्रतिक्रिया र सुझाव सङ्कलन गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको थियो । संस्थानका कार्यकारी अध्यक्षको नेतृत्वमा सल्लाहकार सम्पादक, गोरखापत्र र द राइजिङ नेपालका प्रधानसम्पादकको टोलीले विराटनगर, बुटवल, सुर्खेत, धनगढी र नेपालगञ्जमा अन्तक्र्रिया गरेको थियो ।
कार्यक्रममा सहभागी भएका विविध क्षेत्रका प्रतिनिधिका अभिव्यक्तिमा धेरैमा उत्साह र केहीमा गुनासा रहेका थिए । राज्यको आधिकारिक अखबार भएकाले गोरखापत्र हेरेपछि मात्र विश्वास गर्ने बानी परिसकेको छ तर खोज्दा सजिलोसँग कहिल्यै पाइँदैन । अखबार आउँदा पनि धेरै दिनको बासी एकै पटक आउँछ । अब आफ्नै क्षेत्रबाट प्रकाशन हुने भएपछि ताजा गोरखापत्र पढ्न पाउने भएकोमा खुसी व्यक्त गर्नेको सङ्ख्या सबै कार्यक्रममा बढी नै थिए । आफ्नै क्षेत्रको गतिविधि समेत पढ्न पाउने भएपछि गोरखापत्रसँगको अपनत्व झन् बढ्ने आशा नागरिक अगुवाहरूले गरेका थिए ।
गोरखापत्र अखबार मात्र होइन नेपालको राजनीतिक परिवर्तनको साक्षी पनि भएकाले आमसञ्चारमा हुने गरेका नकारात्मक सोचका विरुद्ध सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव समाजका विभिन्न क्षेत्रमा क्रियाशील प्रतिनिधिले गरेका थिए ।
गोरखापत्र गोरखापत्रजस्तै बनिरहनु पर्छ । गोरखापत्रले अरू अखबारजस्तो बन्ने प्रयत्न गर्नुहुँदैन । अरूसँग प्रतिस्पर्धा गर्नु गोरखापत्रको काम होइन । अहिले प्रविधिको सहजताले छिटो समाचार दिने होड चलेको छ । घटना एउटै भए पनि तर समाचार अनेक बन्ने गरेका छन् । यसरी सूचनाबाट दिग्भ्रमित भइरहेका पाठकका लागि गोरखापत्रको औचित्य झन् बढेको विचार बुद्धिजीवीहरूले प्रकट गरेका थिए ।
युवालाई आशा जगाउने सामग्री बढाउनुपर्ने, महिलाको आवाज सशक्त रूपमा उठाउनुपर्ने, भ्रष्टाचार र सामाजिक विसङ्गतिको पर्दाफास गर्नुपर्ने सुझाव दिने युवाले भनेका थिए, सरकारी अखबारमा के पो सूचना होला भन्ने भ्रम थियो तर अहिले तोडिएको छ ।
नेपाली भाषाको व्याकरण निकै अलमलको अवस्थामा छ । शुद्धाशुद्धिका लागि गोरखापत्र हेर्ने भएकाले यसले भाषा बिगा¥यो भने विद्यार्थीहरू पनि बिग्रिने हुन्छ । त्यसैले समाचार र लेखरचनाका भाषामा अत्यन्तै सचेत हुनुपर्ने धारणा प्राध्यापन क्षेत्रमा संलग्नहरूले गरेका थिए । गोरखापत्र मुलुकको गौरव भएकाले समयसापेक्ष रूपमा थप पठनीय र पाठकप्रिय हुनु जरुरी भएको विचार पनि पटकपटक व्यक्त भएका थिए ।
ठूलाका आवाज मात्र अखबार होइन भन्ने भ्रम चिर्नका लागि जनस्तरमा भएका अनौपचारिक कार्यका समाचार बढ्नुपर्ने । समाचारमा समावेशी र समानुपातिक हुनुपर्ने । पिछडिएका वर्गको आवाज आउनुपर्ने । लोपोन्मुख जातिका भाषा, साहित्य र संस्कृृतिलार्ई स्थान दिनुपर्ने, विभिन्न क्षेत्रकालाई अपनत्वको आभास दिलाउनुपर्ने र आवाजविहीनहरूकोे आवाज हुनुपर्ने विचार विभिन्न कार्यक्रममा दोहोरिएको थियो ।
सुर्खेतमा भएको कार्यक्रममा कर्णाली प्रदेश भाषा, साहित्य, संस्कृति, जडीबुटीमा धनी भएकाले त्यसको विशेष प्रचारप्रसार हुनुपर्नेमा जोड दिइएको थियो । कर्णालीका कुरा काठमाडौँ पु¥याउने भरपर्दो माध्यम बन्नुपर्ने । कर्णालीका समस्याका समाचार मात्र होइन समाधानका लागि सुझाव पनि आउनुपर्नेमा स्थानीय अगुवाहरूले जोड दिएका थिए ।
विभिन्न क्षेत्र र वर्गले पढ्ने अखबारका बारेमा उनीहरूका केकस्ता धारणा छन् भन्ने प्रत्यक्ष रूपमा नै बुझ्न पाउँदा व्यवस्थापकीय र सम्पादकीय नेतृत्वका लागि ठूलो ऊर्जा बनेको थियो । पाठकका लागि प्रकाशित अखबार पाठकसामु नै पुगेर लिइएको प्रतिक्रियाले अखबारलाई कसरी अगाडि बढाउने भन्ने विषयमा मार्गनिर्देशनको काम गरेकोे थियो ।