विवाद मिलाउन एमाले नेताहरू सक्रिय, निस्कर्ष नजिक पुगेको दावी
लक्की चौधरी
काठमाडौ।, असार ४ गते । नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।
एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई घण्टा बढी समय छलफल भएको छ ।
बैठक सहभागी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बैठक नियमित र निरन्तर भएपनि निस्कर्षमा पुग्न बाँकी रहेको बताउनुभयो । “दुवै पक्षका नेताहरुको आफ्नो कुरा राख्ने र मिलनविन्दु खोज्ने प्रयास जारी छ, जति सक्दो छिटो निस्कर्षमा पुग्ने प्रयासमा हामी छौं” उहाँले भन्नुभयो । मिलन विन्दु नभेटिएसम्म बैठक जारी राख्ने कुरामा दुवै पक्षका नेताहरुको एक मत रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष केपी शर्मा ओलीले आफू दुई पार्टी ९एमाले र माओवादी केन्द्र० एकताको मितिभन्दा पूर्वअवस्था २०७५ जेठ २ अघिको अवस्थाबाट छलफल गर्न तयार रहेको बताउनु भएपछि सोही अवस्थाबाट पार्टीको छलफल अघि बढाउने तर माओवादी केन्द्र त्याग गरी एमालेमा आएका नेताहरुको सम्बोधनको कार्यनीतिबारे गृहकार्य भइरहेको नेताहरुको भनाई छ ।
त्यस्तै, नेता माधवकुमार नेपालले जेठ २ को अवस्थाबाट अघि बढ्न अध्यक्ष ओली तयार भएमा अन्य विषयमा छलफल गर्न तयार हुने बताउनुभएको थियो । अध्यक्ष ओलीले त्यस अवस्थाबाट छलफल गर्न आफू तयार रहेको तर सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा पेश गरिएको हस्ताक्षर फिर्ताको माग उहाँको छ । नेता नेपाल पक्षले सो हस्ताक्षर फिर्ता लिने उपयुक्त वातावरणको खोजी गरिरहेको र त्यही विषयको निराकरण गर्न दोस्रो पुस्ताका नेताहरु सक्रिय हुनुभएको हो ।
बैठकमा विभिन्न कोण र विकल्पबारे छलफल भएपनि ठोस निस्कर्षमा पुग्न अझै नसकिएको स्थायी कमिटी सदस्य नेम्वाङले बताउनुभयो । पार्टी फुटको पक्षमा दुवै पक्ष नरहेकाले केही न केही विकल्पमा पुग्ने लक्ष्यसाथ छलफल भइरहेको उहाँले बताउनुभयो । बैठक सकारात्मक ढङ्गले अघि बढेकाले निस्कर्ष नजिक आफूहरु रहेको उहाँको भनाई छ ।
छलफलमा सहभागी नेता नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले बैठक निरन्तर चलिरहेको र चाँडै केही न केही निकास निस्कनेमा आफू विश्वस्त रहेको बताउनुभयो । बैठकमा विभिन्न कोणबाट छलफल भएपनि ठोस निस्कर्षको आधार भने अझै फेला नपरेको उहाँले बताउनुभयो । नियमित छलफलबाट सहमतिको उपाय निस्कने उहाँले बताउनुभयो ।
दोस्रो पुस्ताका नेताहरुमा अध्यक्ष ओली पक्षबाट नेम्वाङ, नेताहरु विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल बैठकमा सक्रिय हुनुहुन्छ । त्यस्तै नेता नेपाल पक्षबाट घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीमप्रसाद आचार्य छलफलमा रहनुभएको छ ।