मुख्य समाचार | फोटो फिचर |

तस्बीरमा एमाले दशौं महाधिवेशन आयोजक कमिटी बैठक

 गोरखापत्र अनलाइन

काठमाडौं, असार १६ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको बैठकमा माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरुको समेत सहभागिता छ । आजको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गर्ने बताइएको छ ।

महाधिवेशन आयोजक कमिटिका सदस्य तथा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा पार्टी एकताको प्रयास तथा भएका प्रगतिको समीक्षात्मक छलफल हुने बताइएको छ । केन्द्रीय कमिटी कति सदस्यीय बनाउने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताउनुभएको छ । नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई समेत केन्द्रीय कमिटी बैठकका लागि निमन्त्रणा गर्ने तयारी गरेको एमालेले आउने शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ ।

महाधिवेशन आयोजक कमिटी भङ्ग हुने भएपछि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादलसहित २३ जना नेतालाई केन्द्रीय कमिटीमा समेटिने निर्णय पनि आजको बैठकले गर्ने भएको छ । नेता नेपाल पक्षका नेताहरुले २०७५ जेठ २ गते अघिको पार्टी संरचनामा गए आफूहरु बैठकमा सहभागी हुनेबारेमा सोच्न सक्ने सङ्केत गरेपछि हिजो मङ्गलबार बसेको स्थायी कमिटी बैठकले जेठ २ अघिको संरचनामा बैठक राख्ने निर्णय गरेको थियो ।