मुख्य समाचार |

वरिष्ठ पत्रकार काेइरालासहित गोरखापत्र अनलाइनकर्मी चौधरी पुरस्कृत

काठमाडौं, असोज ६ गते । प्रेस काउन्सिल नेपालले आफ्नो ५२ औं वार्षिकोत्सवको अवसरमा ३४ जना पत्रकारलाई सम्मानित गरेको छ । गोरखापत्र अनलाइनकर्मी लक्की चौधरी प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत हुनुभएकाे थियाे । पुरस्कारको राशी नगद २० हजार रुपियाँ र सम्मानपत्र रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीसहित पुरस्कृत सबै ३४ जना पत्रकारलाई सम्मानित गर्नुभयो । उहाँले पुरस्कृत तथा सम्मानित सबैलाई बधाई पनि ज्ञापन गर्नुभयो ।  सोही अनुसार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारले सम्मानित गरेको छ । पुरस्कारको राशी एक लाख ५० हजार रुपियाँ नगद तथा सम्मानपत्र रहेको छ । त्यस्तै वरिष्ठ पत्रकार बद्रीविनोद खनाल प्रतीकलाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कारको राशी एक लाख १० हजार नगद र सम्मानपत्र रहेको छ ।
त्यस्तै, अन्य पत्रकारमा विमल गौतम, दुर्गालाल केसी, माधव नेपाल, विन्दुकान्त घिमिरे, जमुना वर्षा शर्मा लगायत पत्रकार सम्मानित हुनुभयो । त्यस्तै, प्रेस काउन्सिलले उत्कृष्ट चारजना कर्मचारीलाई पनि सम्मानित गरेको छ ।