मुख्य समाचार | समाज |

मानव सेवा आश्रम बन्ने

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २ गते । काठमाडौँ जिल्लाभित्र अव्यवस्थित रूपमा सडक पेटीमा बस्दै आएका मानवको व्यवस्थापन गर्नका लागि व्यवस्थित मानव सेवा आश्रम बन्ने भएको छ । नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बासँगै रहेको १८ रोपनी जग्गामा मानव सेवा आश्रमको भवन निर्माण गर्न लागिएको हो ।
मानव सेवा आश्रम निर्माणका लागि काठमाडौँ महानगरपालिका, नागार्जुन नगरपालिका र मानव सेवा आश्रमबीच यसअघि नै त्रिपक्षीय सम्झौता भइसकेको छ ।

मानव सेवा आश्रम निर्माणका लागि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग, नागार्जुन नगरपालिकाको जग्गा व्यवस्थापन र मानव सेवा आश्रमको व्यवस्थापन गर्ने गरी सम्झौता भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । सडक पेटीमा अत्यन्त कष्टकर जीवनयापन गर्न बाध्य शारीरिक तथा मानसिक रूपमा अशक्त मनोरोगी, अनाथ, अपाङ्गता भएका व्यक्तिको आश्रयस्थल निर्माण गर्ने गरी उक्त भवन निर्माणको सम्झौता भएको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । भवन निर्माण २०७८ सालमै सुरु गरी २०८० सालभित्र सम्पन्न गरिसक्ने योजना छ ।

“सहाराविहीन व्यक्तिका लागि सहारासहितको आवास निर्माण गर्ने पवित्र कार्यमा तीन पक्षबीच सम्भौता भएको छ”, बस्नेतले भन्नुभयो, “आश्रम निर्माण भइसकेपछि आश्रयस्थलकै अभावमा काठमाडौँमा कोही पनि सडक पेटीमा बस्नुपर्ने अवस्थ रहनेछैन ।”
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सडक पेटीमा अव्यवस्थित रूपमा बसोबास गरेका नागरिकलाई नाना, खाना र छानासहितको व्यवस्थित मानव सेवा आश्रम निर्माण हुने बताउनुभयो ।
काठमाडौँ जिल्लाभित्र विभिन्न स्थानका सडक, किनारभित्र सार्वजनिक स्थानमा विभिन्न कारणले घरबारविहीन भई खुला आकाशमुनि कष्टकर जीवनयापन बिताउन बाध्य भएका व्यक्तिलाई सकडपेटीबाटै उद्धार गरेर आश्रममा राखिनेछ । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा महानगरपालिकाले छ करोड रुपियाँ विनियोजन गरेको छ ।