मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा बस्दै
काठमाडौं, कात्तिक ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार दिउँसो २ बजे बस्ने प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
आइतबारदेखि परेको अविरत वर्षाका कारण आएको बाढीपहिरोका कारण देशभर जनधनको क्षति भएपछि पीडितलाई राहत तथा मृतकका परिवारलाई क्षतिपूर्ति दिनेबारे आवश्यक निर्णय लिन प्रधानमन्त्री देउवाले बैठक बोलाउनुभएको स्वकीय सचिव देउवाले बताउनुभयो ।
अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी देशभर ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा ४८ जनाको मृत्यु भएको हो ।
बाढीपहिरोका कारण कालिकोटमा एक, बैतडीमा चार, डडेरधुरामा एक, डोटीमा नौ, हुम्लामा छ, प्यूठानमा एक, धनकुटामा छ, सुनसरीमा दुई, पाँचथरमा छ, इलाममा ११ र उदयपुरमा एक जनाको मृत्यु भएको छ । बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको गृहले जनाएको छ ।