प्रधानन्यायाधीश जबराले १० इजलासमा तोक्नुभयो सबै खाले मुद्दाको पेशी
काठमाडौं, कात्तिक २३ गते । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि १० वटा इजलास तोक्नुभएको छ । मङ्गलबारका लागि प्रधानन्यायाधीश जबराको एकल इजलासहित नौ संयुक्त इजलास तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले आजका बन्दी प्रत्यक्षीकरणसहित सबैखाले मुद्दामा पेशी तोक्नुभएको हो । आजको पेशीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडाल, डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगाना, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको छ ।