मुख्य समाचार |

सर्वोच्चका न्यायाधीशहरुद्वारा बन्दी प्रत्यक्षीकरणको रिटमा मात्र सुनुवाइ

काठमाडौं, कात्तिक २३ गते । सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक अन्य सबै इजलासमा सुनुवाइ गर्नुभएन । मङ्गलबारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १० इजलास तोक्नुभएको थियो । प्रधानन्यायाधीश जबराले आफ्नो एकल र नौ संयुक्त इजलास तोक्नुभएको थियो ।

आज इजलास तोकिएकोमध्ये न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ भएको छ भने अन्य मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ ।

त्यस्तै प्रधानन्यायाधीश जबराको एकल इजलामा मुद्दाको सुनुवाइ भएको छ । जबराको एकल इजलासले एउटा मुद्दा तामेलीमा, तीनवटा मुद्दामा कारण देखाऊ आदेश, एक मुद्दा हेर्न नमिल्ने सूचीमा, एक मुद्दामा लिखित जवाफ माग र अर्को एक मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश जबराले आजका लागि बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दा पनि राखेर पेशी तोक्नुभएको थियो ।

बन्दी प्रत्यक्षीकरणको एउटा मुद्दाबाहेक अरु सबै इजलास न्यायाधीशले सुनुवाइ नगर्नुभएको हो । उहाँहरुले सर्वोच्चको बेवसाइटमा प्रकाशित पेशी सूचीमा बेन्च नबसेको जनाउ दिनुभएको छ ।

आजको पेशीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडाल, डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगाना, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र वमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश जबराको एकल इजलास तोकिएको छ ।