मुख्य समाचार |

बारले सभामुख र संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौं, मङ्सिर ६ गते । नेपाल बार एशोसिएसनले आज सभामुख र विभिन्न संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउने भएको छ ।बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले सोमबार दिउँसो २ बजे सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटासहित संसदीय दलका नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी रहेको बताउनुभयो ।
उहाँका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग लगाउन र सर्वोच्च अदालतमा जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणका लागि ज्ञापनपत्र बुझाउन लागिएको हो ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै धर्ना कार्यक्रम गर्दै आएको हो । आज पनि बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा जबराको राजीनामा माग गर्दै धर्ना जारी राखेका छन् ।